‘किसानका पीर–मर्का बुझ्ने पार्टी नै काँग्रेस हो’

‘किसानका पीर–मर्का बुझ्ने पार्टी नै काँग्रेस हो’

नेपालगञ्ज २ फागुन : नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेश चन्द्र तिमिल्सिनाले नेपाली काँग्रेसका पक्षमा मतदान गर्न आम किसान बर्गलाई आग्रह गरेका छन् । 

नेपाल किसान महासंघ बाँकेले शनिबार (आज) नेपालगञ्जमा आयोजना गरेको ‘नेपाली काँग्रेसका बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मदवारहरुसँग किसानहरुको प्रत्यक्ष भेटघाट तथा छलफल कार्यक्रम’ मा बोल्दै तिमिल्सिनाले कृषि क्षेत्रको बृहत्तर विकास र किसान बर्गको हित तथा उत्थानका लागि काँग्रेस मात्रै जिम्मेवार पार्टी भएको बताउँदै काँग्रेसका उम्मेदवारहरुलाई निर्वाचित गराउन आग्रह गरे।

बाँके क्षेत्र नम्बर–३ का उम्मेदवार एवम् नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले किसानका पीर–मर्का बुझ्ने पार्टी काँग्रेस नै भएको बताए । 

पुनले काँग्रेसले स्थापना कालदेखि नै किसानमैत्री पार्टीको छबि बनाएको उल्लेख गरे । उनले किसान लगायत सबै बर्गलाई समेटेर मुलुक निर्माण कार्यको नेतृत्व लिन सक्ने पार्टी नेपाली काँग्रेस मात्रै भएको दाबी गरे । पुनले लोकतन्त्र र संविधान संकटमा परेको बेला मुलुकको सबैभन्दा जिम्मेवार पार्टी नेपाली काँग्रेसका पक्षमा मत जाहेर गर्न आमकिसानलाई आह्वान समेत गरे ।

क्षेत्र नम्बर–१ का उम्मेदवार एवम् नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले काँग्रेस किसानहरुकै पार्टी भएको बताए । उनले काँग्रेसले किसानका वास्तविक समस्या बुझेको जिकिर गर्दै कृषि क्षेत्रको विकास, आधुनिकीकरण र ब्यवसायीकरणका लागि काम गर्दै आएको बताए । किसान बर्गको उत्थानका लागि काम गर्ने गौडेलको प्रतिबद्धता छ । 

Duduwa Tato hawa Bachau Image

क्षेत्र नम्बर–२ का उम्मेदवार एवम् नेपाली काँग्रेस बाँकेका सचिव, युवा नेता शुधान्सु कोइरालाले योजना बनाउँदा किसानलाई सम्झेर बनाउनुपर्दछ भन्ने महामानव वीपी कोइरालाको दर्शनले कांग्रेस पार्टी अभिप्रेरित रहेको बताए ।

किसानलाई माया गर्ने पार्टी कांग्रेस नै रहेको जिकिर गर्दै उनले बाँकेमा किसानका लागि अमृत सावित भइरहेको सिक्टा सिंचाई आयोजना ल्याउने ब्यक्ति नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला रहेको स्मरण पनि गराए ।

नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष अस्मिता शाह महतराले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव महेन्द्र मल्ल ठकुरीले गरेका थिए । त्यस अवसरमा समानुपातिक उम्मेदवार दिप नारायण बर्मा लगायत पार्टी तथा किसान महासंघका नेता–कार्यकर्ताहरुको उपस्थिति थियो ।