बाँके–२ मा तेस्रो जित हात पार्दै पुनरागमन गर्ने दाउमा इश्तियाक

बाँके–२ मा तेस्रो जित हात पार्दै पुनरागमन गर्ने दाउमा इश्तियाक

नेपालगन्ज १ फाल्गुन : विक्रम संवत २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन बाँके क्षेत्र नम्बर–२ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट उम्मेदवार बनेका मोहम्मद इश्तियाक राई एमालेका दिनेशचन्द्र यादवलाई ठूलो मतान्तरले पराजित गरे । तर, २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा पुरानै प्रतिस्पर्धी यादवसँग पराजित भएका थिए ।

२०७४ सालको संसदीय निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा एमालेको सूर्य चिन्हबाट उम्मेदवार भएका पशुपति दयाल मिश्रलाई पराजित गर्दै राई निर्वाचित भएका थिए । २०७९ सालको संसदीय निर्वाचनमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका राई नेकपा एमालेसँग गठबन्धन गरेका चुनावी मैदानमा होमिएका राप्रपाका उम्मेदवार डाक्टर धवल शमशेर राणासँग पुनः पराजित भएका थिए ।

यो पनि धम्बोझीमा ईश्तियाकले भने–‘ठूलो दलमा आएपछि झनै काम गर्न सक्ने विश्वास बढेकोछ’

एक पटक जित एक पटक हारको सिलसिला लगातार दुई अनुभव भोगेका राई यसपटक ‘जित्ने’ सांसदका रूपमा आफूलाई स्थापित गर्न लागिपरेका छन् । बाँके क्षेत्र नम्बर–२ बाट यसअघि निर्वाचित दुई कार्यकालको दौरान ३ पटक संघीय सरकारको मन्त्रिपरिषदमा सहभागी भइसकेका छन् ।

२०६४ सालको संविधान सभा निर्वाचन पश्चात् संघीय सरकारमा श्रम तथा यातायात व्यवस्था मन्त्री भएका थिए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका राई शहरी विकास र भौतिक पूर्वाधार गरि २ पटक मन्त्री बनेका थिए । संघीय सरकारमा मन्त्री हुँदा बाँके जिल्लामा ल्याएको विकासका आयोजनाहरुलाई वर्तमान निर्वाचनमा आफ्नो प्रमुख एजेण्डा बनाएर चुनावी मैदानमा जाने तयारीमा रहेका छन् ।

यो पनि प्रतिस्पर्धी उम्मेदवारहरूलाई इश्तियाक राईको धन्यवाद ! 

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका राईले बाँके–२ मा तेस्रो जित हात पार्दै पुनरागमन गर्ने दाउमा छन् ।

राईले भने, ‘बाँके–२ मा यसअघि दुई पटक चुनाव जितेको छु । मैले २०६४ र २०७४ को चुनाव जित्दै विकास कार्यमा इतिहास रचे । यसपटक फेरि म बाँके–२ बाटै चुनावी मैदनमा छु । विकासका बाँकी अधुरा काम पूरा गर्न यस क्षेत्रका जनताको मत प्राप्त हुनेमा म ढुक्क छु ।’

Duduwa Tato hawa Bachau Image

विगतका दुई कार्यकालमा आफू बाँके–२ का जनताको हरेक दुःख सुखमा सदैव साथमा रहेको भन्दै उनले कामको मूल्यांकन जनताले गरेर फेरि मलाई विजयी बनाउनेमा आफू ढुक्क रहेको बताए । 

उनले भने, ‘नेपालगन्जमा अस्पताल र सडकहरुको स्तरोन्नति, सभाहल, पुलपुलेसाहरुको निर्माण लगायतका अनेकौं विकासको काम गरेको थिए । मन्त्री भएको बेला यहाँका जनताको माग अनुसार मन्त्रालयका तर्फबाट प्रयाप्त बजेट ल्याएर विकासको काम गरे’ ।

नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा उत्रिनुको कारण खुलाउँदै उनले भने, ‘संविधान, संघीयता र लोकतन्त्र रक्षाका लागि म एमालेबाट उम्मेदवार भएको हुँ । राष्ट्रप्रेम र देश विकासका सवालमा केपी ओलीको चट्टानी अडानबाट प्रभावित भएर नै मैले एमाले रोजेको हुँ। एमालेले नै नागरिकका बाँकी मुद्दाको सम्बोधन गर्नसक्छ ।’

यो पनि देशका धरोहर र सरकारी संरचना जलाउनेलाई कहिल्यै माफी हुन सक्दैन : राई 

बाँके–२ मा एमालेका राईसँगै नेपाली काँग्रेसका ‘फ्रेस उम्मेदवार’ शुधान्सु कोइराला, रास्वपाका विवेक श्रेष्ठ, नेकपाका दिपेन्द्र विष्ट, जसपा नेपालका कमरुद्दीन राई, राप्रपाका ऋषिराज देवकोटा लगायत २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।