देशका धरोहर र सरकारी संरचना जलाउनेलाई कहिल्यै माफी हुन सक्दैन : राई
नेपालगन्ज २७ माघ : बाँके निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले देश बनाउने र देश खरानी बनाउनेबीचको भेद बुझ्न मतदाताहरूसमक्ष आग्रह गरेका छन् ।
नेपालगन्ज वडा नं २० मा आयोजित निर्वाचन केन्द्रित कार्यक्रममा उम्मेदवार राईले गत भदौ २४ गते देशका धरोहर र सरकारी संरचनाहरू जलाउनेलाई कहिल्यै माफी हुन नसक्ने भनाई राखे ।
‘म मैले यो–यो बनाएँ भनेर आउँदैछु । कोही देश खरानी बनाएँ भनेर आउँदैछन् । तपाइँ मतदाताहरू सचेत हुनुस् । दल र नेताहरूप्रति आक्रोश थियो भने आफैं फेरि किन दल खोलेर नेता बन्न आएको ? सोध्नुस्’, एमालेका उम्मेदवार राईले भने, ‘नेताहरूसँगको आक्रोशको बदलामा सरकारी संरचना र धरोहर जलाउनेहरूलाई माफ गर्न सकिन्न ।’
बाँकेमा मालपोत, राजश्व, भन्सार लगायतका सरकारी संरचना ध्वस्त पारिँदा गरिबले सबैभन्दा धेरै दुःख पाइरहेको पनि राईले बताए । ‘नगरपालिका, भन्सार, राजश्व कार्यालय अनि मालपोत लगायतका संरचना जलाइँदा अहिले सबैभन्दा धेरै गरिबहरूले दुख पाइरहेका छन् । लालपुर्जाको श्रेष्ता कायम गराउन ५ हजार रूपैयाँ तिर्नुपरिरहेको छ ।’, राईले भने, ‘राजश्व उठाउने संरचनाहरू ध्वस्त पारेर देश चलाउन चाहिने पैसा कहाँबाट आउँछ ?’
राईले नेपालगन्ज वडा नं २० मा रहेका सुकुम्बासीहरूलाई लालपुर्जा दिने प्रक्रिया अघि बढेको र निर्वाचन लगत्तै त्यो पूरा हुने आश्वासन पनि दिए । नेपालगन्जको सबैभन्दा ठूलो वडा नं २० लाई राम्रो र सुविधायुक्त बनाउने प्रतिबद्धता जनाएका राईले नयाँ निर्माण गरिने भौतिक संरचनाहरूले स्थानीय स्तरमै रोजगारीको सृजना गर्नसक्ने गरी योजनाहरू अघि सार्न आफू तत्पर रहेको बताएका थिए । राईले सोक्रममा वडा नं २० का मतदाताहरूसँग घरघरै पुगेर भेटघाट गरेका थिए ।





0 Comments