नुवाकोट–१ मा डा. महतको पक्षमा युवाहरूको लहर, नेकपाका दर्जनौं कार्यकर्ता काँग्रेसमा प्रवेश

नुवाकोट–१ मा डा. महतको पक्षमा युवाहरूको लहर, नेकपाका दर्जनौं कार्यकर्ता काँग्रेसमा प्रवेश

नुवाकोट २८ माघ : नुवाकोट क्षेत्र नम्बर– १ मा डा. प्रकाश शरण महतलाई विजयी गराउने संकल्पसहित नेपाली कम्युनिष्ट पार्टीका दर्जनौं युवाहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

उद्यम, व्यवसाय तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय नेकपा बागमती प्रदेश सदस्य तथा नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समिति उपाध्यक्ष मनोज तामाङसहितको टोली काँग्रेसमा आबद्ध भएको हो ।

उनीहरूलाई नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले टिका–माला लगाएर पार्टीमा स्वागत गरेका थिए । स्वागत समारोहमा बोल्दै डा. महतले युवाहरूले देखाएको विश्वास र ऐक्यबद्धताले नुवाकोटको विकास, समृद्धि र सकारात्मक परिवर्तनको साझा यात्रालाई थप ऊर्जा दिएको बताए ।

उनले जनताको आशा र भरोसालाई केन्द्रमा राखेर सहकार्य, सम्मान र जिम्मेवारीका साथ समुन्नत नुवाकोट निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “आउनुहोस्, एकताबद्ध भएर उज्ज्वल भविष्यको आधार तयार गरौँ,” उनले आह्वान गरे ।

Duduwa Tato hawa Bachau Image

लामो समयदेखि नेकपामा सक्रिय रहँदै आएका नुवाकोटका युवाहरू विकासमुखी नेतृत्वको आवश्यकता महसुस गर्दै डा. महतलाई जिताएर जिल्लाको मुहार फेर्ने अभियानमा सहभागी भएको बताएका छन् ।

युवाहरूको यो प्रवेशसँगै नुवाकोटमा नेकपालाई ठुलो धक्का पुगेको राजनीतिक विश्लेषकहरूको आकलन छ ।