‘विजय मल्ल नइ शताब्दी पदक’बाट ३४ जना विभूषित

‘विजय मल्ल नइ शताब्दी पदक’बाट ३४ जना विभूषित

नेपालगन्ज २६ माघ : नइ एकेडेमीले ३४ जनालाई विजय मल्ल नइ शताब्दी पदकले सम्मान गरेको छ । साहित्यकार विजय मल्लको शताब्दी महोत्सवका अवसरमा उनका सिर्जनात्मक कृतिको अध्ययन, अनुसन्धानका साथै नाट्यमञ्चन तथा चलचित्र निर्माणका साथै प्रचार गर्नेहरुलाई सम्मान गरिएको हो ।

‘विजय मल्ल नइ शताब्दी पदक’बाट विभूषित हुनेहरूमा अंशुमाला शाही, कृष्ण मल्ल, प्रा.केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी, टीका पहाडी, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.देवीप्रसाद गौतम, प्रा.डा.देवीप्रसाद सुवेदी, नगेन्द्र थापा, नारायणदेवी प्रधान, नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी, मदनदास श्रेष्ठ रहेका छन् ।

यस्तै, प्रा.डा.महादेव अवस्थी, मुरलीधर, रवीन्द्र खड्का, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, वसन्त श्रेष्ठ, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षत्री, सुषमा शाही, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा.डा.हेमचन्द्र नेपाललाई पनि सम्मान गरिएको छ ।

आगामी फागुन १६ गते उनीहरुलाई पदक समर्पण गरिने नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

विजय मल्लको संक्षिप्त परिचय

विजय मल्ल (वि.स.१९८२–२०६५) बहुमुखी साहित्य स्रष्टा हुन् । उनले निकै गहकिला र मार्मिक किसिमका कविता, उपन्यास, कथा र नाटक रचेका छन । उनी समाजका निमुखा, निर्धन एवम् गरिव र अन्याय अत्याचारका चपेटामा परेकाहरुलाई तिनका दुःख दर्दबाट मुक्ति दिलाई स्वास्थ, गतिशील, समतामूलक एवम् समृद्ध समाजको निर्माण गरी संसारलाई सुखी र सम्पन्न तुल्याउनु पर्छ भन्ने सामाजिक तथा मनोवैज्ञानिक स्रष्टा हुन् ।

नेपाली साहित्यमा विजय मल्ललाई बहुआयमिक व्यक्तित्वका रूपमा चिनिन्छ । उनले शिक्षाको हकमा आइ.एस्सी. सम्मको अध्ययन गरे । घरपरिवारमा साहित्यिक वातावरण राम्रो भएका कारणले गर्दा उनले बालककालदेखि नै साहित्यमा लाग्ने मौका मिल्यो । यिनले घरमै बसी अङ्ग्रेजी, फ्रान्सेली र रसियन साहित्य अध्ययन गर्थे, विशेष गरेर यिनले शेक्सपियर, चेखब र इब्सेनद्वारा लेखिएका नाटकहरू अध्ययन गथ्र्यो । बुवा ऋद्धिबहादुरले आफ्नै प्रेसबाट शारदा मासिक पत्रिका निकालेका हुँदा साहित्य लेख्ने र छपाउने क्रमलाई यिनले निरन्तता दिए ।

विशेष त यिनले नेपाली साहित्यमा कविता, नाटक, एकाङ्की, कथा, उपन्यास जस्ता विधामा कलम चलाए । सबै विधामा त्यत्तिकै सफल भए । उनका धेरै जसो रचना पाठ्यक्रममा पनि समाबेश गर्नुले रचना शक्तिको मूल्याङ्कन भएको भन्न सकिन्छ । यिनका लेखनमा मनोविश्लेषण गर्ने क्षमताका साथै राजनैतिक सचेतना भएका कारणले उनी उच्च सर्जकको कोटीमा दरिएका थिए ।

Duduwa Tato hawa Bachau Image

विजय मल्लका कवितातर्फ विजय मल्लका कविता (२०१६), कथातर्फ एक बाटो अनेक मोड (२०२६), परेवा र कैदी (२०३४), नाटकतर्फ पत्थरका कथा (२०२८), सात एकाङ्की (२०२८), दोभान (२०३४), भित्तेघडी (२०४०), सृष्टिको पर्खालभित्र (२०४०), भूलैभूलको यथार्थ (२०४१), सृष्टि रोकिदैन (२०४८), कोही किन बर्बाद नहोस् (२०१३), जिउदो लास (२०१७), बहुलाकाजीको सपना (२०२८), र उपन्यासतर्फ अनुराधा (२०१८), कुमारी शोभा (२०३९) जस्ता कृतिहरू प्रकाशित छन् ।

यिनले नेपाली भाषा–साहित्यमा पु¥याएको उच्चमूल्याङ्कन गर्दै साझा पुरस्कार (२०२७), गंकी बसुन्धरा पुरस्कार (२०४९), भूपालमानंसिह कार्की पुरस्कार (२०५३) र बेदनिधि पुरस्कार (२०५६) बाट पुरस्कृत भएका थिए ।

आफ्नो जीवनकालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सह सदस्य (२०२६), सदस्य सचिव (२०३२), उपकुलपति (२०४६) साथै नेपाल लेखक संघको सचिव र उपाध्यक्ष भई भाषा–साहित्यको समुन्नत गर्न क्रियाशिल भएका थिए ।