निर्वाचन लक्षित काँग्रेसको गाउँफर्क अभियान

निर्वाचन लक्षित काँग्रेसको गाउँफर्क अभियान

नेपालगन्ज १५ माघ : काँग्रेसले देशभर प्रत्यक्षतर्फका १६५ र समानुपातिक तर्फका ११० जना उम्मेदवारलाई निर्वाचित गराउन पार्टीभित्र गाउँफर्क अभियान सञ्चालन गरेको छ ।

विभिन्न पेसा र कामका कारण जिल्लाबाहिर रहेका सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई आफू मतदाता रहेको क्षेत्रमा फर्किएर पार्टीका उम्मेदवारलाई विजयी बनाउन पनि काँग्रेसले सबैमा अपील गरेको छ । 

प्रचारप्रसार समितिका संयोजक तथा प्रवक्ता देवराज चालिसेले भने, “भ्रम फैलाउने उद्देश्यले गलत र काल्पनिक विवादका कुरा पनि  बाहिर आए तर यतिबेला पार्टी एक ढिक्का भएर अघि बढेको छ ।” 

निर्वाचन कार्यव्रmमलाई थप प्रभावकारी बनाउन केन्द्र प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै नगरपालिका, गाउँपालिका र वडा तहसम्म विभिन्न समिति गठन गरिएको छ । निर्वाचन चुनाव केन्द्रित अभियान र प्रचारप्रसारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कांग्रेसले सबै जिल्ला कार्यसमितिलाई परिपत्रसमेत गरेको छ । जस अन्तर्गत जिल्ला र निर्वाचन क्षेत्र केन्द्रित निर्वाचन व्यवस्थापन सचिवालय तथा निर्वाचन परिचालन मूल समिति गठन गर्न भनिएको छ ।

यस्तै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काँग्रेस केन्द्रिय प्रचारप्रसार समितिले पार्टीले सञ्चालन गर्ने गतिविधि र मुख्य प्रमुख प्राथमिकता सार्वजनिक गरेको छ । 

काँग्रेस सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरी चुनावी गतिविधिलाई तीव्रता दिएको काँग्रेसले निर्वाचनको प्रमुख एजेण्डा भ्रष्टाचारको अन्त्य, सुशासन कायम, आर्थिक विकास र भविष्यप्रतिको यथार्थवादी तथा विश्वसनीय कार्यक्रमसहित घोषणापत्र ‘भिजन टेन’ अवधारणापत्र सार्वजनिक गर्दैछ ।

निर्वाचनको तयारी, प्रचारप्रसार र भावी रणनीतिबारे जानकारी दिँदै प्रचारप्रसार समितिका संयोजक तथा प्रवक्ता देवराज चालिसे देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले घरदैलोलगायतका चुनाव केन्द्रित गतिविधि सुरु गरिसकेको बताए । 

आगामी निर्वाचनमा पार्टीको मूल नारा ‘बदल्यौँ काँग्रेस, बदल्छौँ देश’ प्रस्तुत गर्दै आम कार्यकर्ता, शुभेच्छुक र आममतदातामा आकर्षण र उत्साह थप्दै सिङ्गो पार्टी निर्वाचनमा होमिएको उनले बताए ।

Duduwa Tato hawa Bachau Image

चुनावी घोषणापत्रलाई काँग्रेसले औपचारिक नभई यथार्थपरक र कार्यान्वयन गर्ने सङ्कल्पपत्रका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ । यसको अन्तिम रूप दिनुअघि पार्टीको केन्द्रदेखि वडासम्म र विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला निकायको सुझावलाई समेटिने छ । निर्वाचनलाई सुरक्षित भयरहित र मर्यादित बनाउन निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा पालना गर्ने अठोट पनि काँग्रेसले गरेको छ । 

उम्मेदवार चयन गर्ने क्रममा कतिपय पार्टीका नेता असन्तुष्ट भई विद्रोही रूपमा उम्मेदवार बने पनि सहमति कायम भएको र बागी उम्मेदारहरू सबैले उम्मेदवारी फिर्ता लिइसकेको प्रवक्ता चालिसेले बताए ।