बालेन साहविरुद्ध निर्वाचन आयोगमा उजुरी
- | राजनीति | नेपाखबर | अपराध–घटना
- १३ माघ २०८२, सोमवार
- नेपाखबर
नेपालगन्ज १२ माघ : आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारमा व्यस्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ विरुद्ध निर्वाचन आयोगमा उजुरी परेकोछ ।
काठमाडौं महानगरपालिकाका निर्वतमान प्रमुख समेत रहेका बालेनले नेकपा(एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे निर्वाचन आयोगमा उजुरी परेको हो ।
यो पनि बालेन पहिलोपटक नेपालगन्ज आए, स्वागत गर्न पुगेका समर्थक गाडीबाट खसे
धर्मराज तिमिल्सिनाले दर्ता गराएको उजुरीमा साहको अभिव्यक्तिले घृणा फैलाएको, तथ्यहीन आरोप लगाएको र निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आवश्यक कारबाहीको माग गरिएको छ ।
एमाले अध्यक्ष ओलीले हालै सार्वजनिक रूपमा सबै राजनीतिक दलका प्रमुख नेताहरूबीच पारदर्शी, बौद्धिक र नम्रतामा आधारित विभिन्न डिबेटको प्रस्ताव राख्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
त्यसको जवाफमा रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर–५ का उम्मेदवार साहले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै ओलीलाई ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता आरोप लगाएका थिए ।
उजुरीकर्ता तिमिल्सिनाका अनुसार साहका यी अभिव्यक्ति लोकतान्त्रिक बहसको मर्मविपरीत, घृणा फैलाउने, मानमर्दन गर्ने, अपूर्ण आरोप लगाउने र निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्ने खालका छन् । कुनै प्रमाण वा अदालतको निर्णयबिना सार्वजनिक रुपमा यस्ता गम्भीर आरोप लगाइनु स्वयंमा मानहानी, राजनैतिक प्रतिशोध र मतदाताको मानसिकता भ्रमित पार्ने कार्य भएको उजुरीमा उल्लेख छ ।
हेर्नुहोस् उजुरी





0 Comments