विपद्का २४ घटना : २५ लाख क्षति

विपद्का २४ घटना : २५ लाख क्षति

नेपालगन्ज १२ माघ: पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन्। हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ।

विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छन्। हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य वृद्धि हुने र जनधनको समेत क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार देशभर १६ वटा आगलागीका घटना घटेका थिए। असावधानीका कारण परालको कुन्युमा आगो लागेको, हावाहुरीले आगो उडाउँदा अन्य क्षति भएको तथा आगो ताप्दा असावधानीका कारण आगो फैलन गई घाइते भएका जस्ता विवरण सार्वजनिक भएका छन्। विपदमा परेर कूल रु २५ लाख ३० हजार बराबरको क्षति भएको जनाइएको छ। त्यसैगरी सात जना घाइते भएका छन्।

Duduwa Tato hawa Bachau Image

प्राधिकरणको विवरण अनुसार मोरङमा दुई, सुनसरी, भोजपुर, सप्तरी, सिरहामा एक–एक वटा आगलागीका घटना भएका थिए। सर्लाही, रौतहट, बारा, रामेछाप, मकवानपुर, काठमाडौँ, पाल्पा, प्यूठान, कैलालीमा पनि आगलागीका घटना घटेका थिए। त्यसैगरी बाग्लुङ, रुकुम पूर्व, हुम्ला, बझाङ र बैतडीमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ।

सप्तरी, कपिलवस्तु र डोटीमा भने जनावरको आक्रमणका घटना घटेका छन्। प्राधिकरणले विपद्बाट जोगिन, सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।