अन्यौलग्रस्त धम्बोझी सडक विस्तारका लागि पहल

अन्यौलग्रस्त धम्बोझी सडक विस्तारका लागि पहल

File Photo

नेपालगन्ज ८ पुष : अन्यौलग्रस्त रहेको धम्बोझीदेखि खजुरा जाने सडक विस्तारका लागि नेपालगन्ज उपमहानगरपालिकाले पहल अघि बढाएको छ ।

नेपालगन्ज–गुलरिया सडकखण्डमा पर्ने उक्त सडक विस्तारका लागि उपमहानगरपालिकाले हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जसँग समन्वय अघि बढाएको हो । 

नेपालगन्ज उप–महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा–१ का वडाध्यक्ष प्रमोद रिजालले उक्त सडक विस्तारका लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयसँग समन्वय अघि बढाएको बताए ।

प्रवक्ता रिजालले भने, “नेपालगन्ज–गुलरिया सडकको बाँकी काम करिब–करिब सम्पन्न भई सकेको छ, खजुरादेखि धम्बोझीतर्फको सडक विस्तारका लागि हुलाकी राजमार्गसँग समन्वय गरि सहजीकरण गर्न तयार रहेको जानकारी गराएका छौँ ।” 

उनले सडक विस्तारका लागि सडक मापदण्डभित्र परेका केही संरचना भत्काउनु पर्ने भएकाले हुलाकी राजमार्गले सहयोग खोजेको भन्दै उपमहानगरपालिका र वडा कार्यालयले आवश्यक सहजीकरण गर्न तयार रहेको बताए ।

सडक विस्तारको विषयमा केन्द्रित रहि हुलाकी सडक निर्देशनालय योजना कार्यालय नेपालगन्ज र नेपालगन्ज उपमहानगरपालिकाबिच तत्कालै समन्वय बैठक बस्ने भएको छ । 

यता नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सडक निर्माणको सुरुवाती चरणमा हुलाकी राजमार्ग निर्देशनालय र उपमहानगरपालिकाबिच प्रारम्भिक छलफल भएको जानकारी दिँदै अब बाँकी सडकखण्ड विस्तारका लागि आवश्यक सबै सहयोग र सहजीकरणका लागि तयार रहेको बताए ।

नेपालगन्जको धम्बोझीदेखि बर्दियाको गुलरियासम्म सडक विस्तारको योजना भए पनि सो क्षेत्रमा घना बस्तीका कारण धम्बोझीभन्दा करिब २ किलोमिटर पश्चिम नन्दनी मिलबाट सडक निर्माण कार्य सुरु भएको थियो । 

Duduwa Tato hawa Bachau Image

नन्दनी मिलदेखि गुलरियासम्मको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख डिभिजनल इन्जिनियर लीलाबहादुर भण्डारीले बताए । उनका अनुसार धम्बोझी क्षेत्रका स्थानीय बासिन्दा सहमतिमा आएपछि तत्कालै  सडक निर्माण कार्य अघि बढ्नेछ ।

धम्बोझीदेखि नन्दनीमिलसम्म दर्जनौं घर लगायत अन्य संरचना सडक क्षेत्रभित्र भएका कारण हुलाकी राजमार्गलाई निर्माण कार्य अघि बढाउन लामो समयदेखि सकसपूर्ण बनेको थियो । 

नेपालगन्ज–गुलरिया सडक करिब तीन अर्बमा शर्मा एण्ड शर्मा कम्पनीले निर्माण गरिरहेको छ । यो सडक घना बस्ती क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेनको निर्माण गरिएको छ ।