नेपालगन्जका आठ वडा कार्यालय भवनविहीन, भाडाको भवनबाट सेवा दिदैँ

नेपालगन्जका आठ वडा कार्यालय भवनविहीन, भाडाको भवनबाट सेवा दिदैँ

File Photo

नेपालगन्ज ६ पुष : लामो समयदेखि नेपालगन्ज उपमहानगरपालिकाका आठ वडा कार्यालय भवनविहीन अवस्थामा सेवा प्रवाह गर्दै आएका छन् । ती वडा कार्यालयहरु भाडाका भवनमा सञ्चालित छन् ।

नेपालगन्जका वडा नं ४, ५, ६, ७, ८, ९, ११ र १६ गरी आठ वडा कार्यालयले अहिले पनि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् । 

वडा नंं १४ र २० ले आफ्नै जीर्ण भवनबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । भने जीर्ण भवनमा रहेको वडा नम्बर १६ गत असारदेखि भाडाको भवनमा रहेकोछ । उक्त वडाको भवन जिर्ण भएपछि नयाँ भवन निर्माण गर्ने गरि हाल भाडाको भवनबाट सेवा प्रवाह भइरहेको हो । 

नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले आफ्नै भवन नभएका सबै वडाको व्यवस्थित कार्यालय भवन निर्माण सुरु गरेको बताए ।

“उपमहानगरपालिकाका केही वडा कार्यालय अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ”, उनले भने, “वडा कार्यालयले जग्गाको व्यवस्था सुनिश्चित गर्नासाथ भवन निर्माणमा उपमहानगरपालिकाले बजेट व्यवस्थापन गर्नेछ ।”

नगरप्रमुख विष्टका अनुसार, वडा नं ६, ९, १४ र २० को वडा कार्यालय भवन शिलान्यास गरि निर्माण भइरहेको छ । वडा कार्यालय भवन निर्माणका लागि प्रत्यक वडालाई रु २० लाखका दरले बजेट निकासासमेत गरिसकेको छ ।

Duduwa Tato hawa Bachau Image

नेपालगञ्ज–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले वडाबासीलाई आफ्नै सुविधा सम्पन्न भवनबाट अझ सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ आनन्दनगर टोलमा वडा कार्यालयको भवन निर्माण सुरु गरिएको बताए ।

उनले गत आवमा वडाको रु २५ लाख बजेट र बाँकी उपमहानगरपालिकाले व्यवस्थापन गर्नेगरी निर्माणको काम सुरु गरिएको जानकारी दिए । यो आवको अन्त्यसम्ममा वडा कार्यालय भवन सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उनको भनाइ छ ।

उपमहानगरपालिका हुनु अगावै रहेका नेपालगन्जका वडाहरुको कार्यालय भवन नभएका हुन् । तत्कालिन अवस्थामा नेपालगन्जका सवै वडाका कार्यालय नगरपालिकाको भवनबाट सेवा प्रवाह गर्दथे ।