शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य : अध्यक्ष शाह
- | राजनीति | नेपाखबर | अपराध–घटना
- २० मंसिर २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज १९ मंसिर : बाँकेको नरैनापुरमा पछिल्लो समय शिक्षा क्षेत्रमा अनियमितता र माफियाकरण विरोधी आन्दोलनको नाममा सामाजिक सञ्जालमार्फत अनधिकृत बन्द–हड्तालका सूचना फैलिन थालेपछि नरैनापुर गाउँपालिकाले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बिहिबार जारी गरेको विज्ञप्तिमा बिना पूर्वसूचना, कानूनी प्रक्रिया र संवादबिना गरिएको हड्ताललाई अवैध, गैरजिम्मेवार र समाजविरोधी भएको भन्दै कडा शब्दमा आलोचना गरेकाछन् ।
यो पनि नरैनापुरमा शैक्षिक बेथिती र लापरबाही चरम उत्कर्षमा, शिक्षा र स्वास्थ्यबाहेक सबै सेवा अबरुद्ध
अध्यक्ष शाहले विद्यालयका बालबालिकालाई पोशाकमै सडकमा उतारिएको दृश्यलाई अत्यन्त दुःखद, निन्दनीय र नैतिक–कानूनी दुवै आधारमा अपराधसरहको कृत्य बताए । यस्ता गतिविधिले बालअधिकार मात्र होइन, स्थानीय शिक्षा व्यवस्थापनलाई समेत गम्भीर रूपमा कमजोर बनाइरहेको टिप्पणी गरे ।
नरैनापुरलाई शान्त, श्रमशील र सद्भावपूर्ण समुदायको पहिचान रहेको उल्लेख गर्दै अध्यक्ष शाहले केही व्यक्तिहरू व्यक्तिगत स्वार्थ तथा बाह्य प्रभावमा परेर सेवाप्रवाह नै अवरुद्ध पार्ने प्रयास गरिरहेको आरोप लगाए । यस्तो कार्यले पालिकाको छवि मात्र होइन, भविष्यका पुस्ताको अधिकारमा समेत प्रत्यक्ष असर पर्ने उनको भनाइ छ ।
बन्द–हड्तालका कारण दैनिक ज्यालादारी मजदुर, विद्यार्थी, महिला, वृद्धवृद्धा र सर्वसाधारणको जनजीवन प्रभावित हुने उल्लेख गर्दै अध्यक्ष शाहले यस्ता गैरजिम्मेवार गतिविधि तत्काल रोक्न सबै पक्षलाई आग्रह गरे ।
हाल शिक्षक सरुवालाई केन्द्रबिन्दु बनाएर केही समूहले जनताबीच भ्रम फैलाउने काम गरिरहेको गाउँपालिकाले आरोप लगाएको छ । अध्यक्ष शाहका अनुसार पालिकामा केही शिक्षकहरु मनोपरी रूपमा कार्य सञ्चालन गर्ने गरेको गुनासो स्थानीयले बारम्बार राखेपछि शिक्षा नियमावलीअनुसार नियमित सरुवा गरिएको थियो ।
उक्त सरुवा बदरको माग गर्दै केही शिक्षक अदालत पुगे पनि अदालतले सरुवा भएको स्थानमै हाजिर भएर काम गर्न आदेश दिएको गाउँपालिकाको दाबी छ । तर, अदालतको आदेशलाई बेवास्ता गर्दै स्थानीय बिनय दिक्षितको नेतृत्वमा नरैनापुर–५ र ६ वडा अन्तरगतको हुलाकी सडकमा अवरोध पु¥याउने गतिविधि भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । गाउँपालिकाले यस्तो कार्य जनताप्रति दुख दिने, अवैध र निन्दनीय भएको जनाएको छ ।
नरैनापुर गाउँपालिकाले शिक्षा र सार्वजनिक सेवा जस्ता संवेदनशील क्षेत्रमा अराजकता र भ्रम फैलाउने गतिविधि सह्य नहुने चेतावनी दिँदै, कानुनी प्रक्रियाअनुसार जिम्मेवार रूपमा संवाद र समाधानतर्फ आउन सबै सम्बद्ध पक्षलाई अनुरोध गरेको छ । गाउँपालिकाको शिक्षा समिति पूर्ण रूपमा कानुनी र प्रक्रियागत रूपमा सञ्चालन हुँदै आएको छ विज्ञप्तीमा भनिएको छ ।
त्यसैले गलत सूचना तथा अफवाहमार्फत जनतालाई भड्काउन खोजिएकाले यस्ता गतिविधिबाट टाढा रहन नागरिकलाई अपील गरिएको छ ।
उनले भने, “विद्यार्थीहरू कुनै राजनीतिक वा निजी स्वार्थका साधन होइनन्, उनीहरू देशको भविष्य हुन् । विद्यालयबाट निकालेर आन्दोलनमा प्रयोग गर्नु कानून र समाज दुवैले अस्वीकार गर्छ ।”
बालअधिकार ऐन तथा शिक्षा ऐनले बालबालिकालाई कुनै पनि प्रकारको राजनीतिक क्रियाकलाप वा दबाबमा प्रयोग गर्न नपाइने व्यवस्था गरेको भन्दै उनले अभिभावक, शिक्षक तथा समाजका सबै पक्षलाई यस्तो हानिकारक गतिविधिबाट सचेत रहन आग्रह गरेकाछन् ।
आन्दोलनको क्रममा बिनय दिक्षित नामक व्यक्तिसंग फोनमा भएको वार्तालाई तोडमोड गरी गलत अर्थ लगाई आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको दाबी अध्यक्ष शाहले बिज्ञप्ती मार्फत गरेकाछन् । उक्त कार्यको उनले कडा शब्दमा निन्दा गर्दै सत्य–तथ्यबाट विपरीत जानकारी नफैलाउन चेतावनी दिए ।
अध्यक्ष शाहले नरैनापुरका सबै नागरिकलाई शान्ति, शिक्षा, विकास र सद्भावको पक्षमा एकजुट हुन आग्रह गरेकाछन् । उनले कुनै पनि समस्या शान्तिपूर्ण संवाद, तथ्य र कानुनी मार्गबाट समाधान गर्न गाउँपालिका तयार रहेको बिज्ञप्तीमा उल्लेख गरे । अध्यक्ष शाहले भने,“नरैनापुरलाई विकास, सुशासन र स्थायित्वतर्फ अगाडि बढाउने हाम्रो यात्रालाई व्यक्तिगत स्वार्थका कारण अवरुद्ध हुन दिइने छैन ।”





0 Comments