नेपालगन्जलाई विपदको स्टेशन बनाउन जोड
- | अर्थ | नेपाखबर | अपराध–घटना
- १७ मंसिर २०८२, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज १६ मंसिर : बाँकेको नेपालगन्जलाई विपदको स्टेशन बनाउ जोड दिइएकोछ । नेपालगन्जलाई विपदको स्टेशन बनाउन सके लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिमका २४ जिल्लालाई राहत पुग्ने नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले विश्वास व्यक्त गरे ।
‘अन्तर स्थानीय तह समन्वय बैठक’मा बाँकेका सम्पूर्ण पालिकाहरुको तर्फबाट धारणा राख्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख विष्टले देशकै अत्यधिक गर्मी हुने शहर नेपालगन्जमा हिट प्रतिकार्य योजना बनाएर अघि बढिरहेको बताउँदै यस्तो बताएका हुन् ।
‘अधिक तापक्रमलाई नेपालगन्जले विपदकारूपमा लिएको जनाउँदै त्यसविरुद्ध उपमहानगरले नेपालमै पहिलो प्रतिकार्यको योजना बनाएको छ’ मेयर विष्टले भने ।
अधिक तापक्रमबाट नागरिकलाई जोगाउन नेपालगन्जको बसपार्कमा कुलिङ सेन्टर निर्माण गरिएको जानकारी दिँदै उनले त्यसलाई विस्तार गर्दै लगिने समेत बताए । उनले नेपालगन्जलाई विपदको स्टेसन बनाउन सके लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिमका २४ जिल्लालाई राहत पुग्ने विश्वास व्यक्त गरे ।
सोक्रममा बाँकेका स्थानीयतह विपद जोखिमका विरुद्ध सहकार्य र समन्वय गरेर जान तयार भएका छन् । जिल्लाका ८ वटा स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुको ‘अन्तर स्थानीय तह समन्वय बैठक’मा सहभागी उनीहरुले विपदका विरुद्ध सहकार्य र समन्वय गरेर अगाडि बढ्ने सहमति जनाए ।
उनीहरुले आगजनी, सीतलहर, प्रकोपजन्य माहामारी, बाढी र डुबानका समस्यामा स्थानीयतहबीच एक अर्कामा समन्वय र सहकार्यले विपदमा परेका नागरिकलाई जोगाउन सकिने निष्कर्श निकाले ।
बैठकले नेपालगन्ज बाँकेको मात्र नभएर आधा लुम्बिनी सहित कर्णाली र सुदूरपश्चिमको पनि पायक पर्ने शहर भएको भन्दै सरकारले विपदका विरुद्धको प्रतिकार्यका लागि नेपालगन्जलाई एउटा केन्द्र बनाउनु सुझाव दिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रालयका सचिव लोकबहादुर सुनारले प्रत्यक पालिकाले काञ्जी हाउस बनाउन आवश्यक रहेको बताए । उनले काञ्जी हाउसको अभावमा सडकमा छाडा चौपायाको विकराल अवस्था देखिएको बताए ।
सुनारले पालिकाले अहिले नै सडक सम्बन्धी नीति बनाउन आवश्यक भै सकेको औंल्याउँदै सडक सञ्चालन कार्यबिधि नागरिकको लागि अत्यावश्यक बनेको बताए । पर्यटन प्रवद्र्धन मेला महोत्सवमा पनि अन्तर स्थानीय तहबीच समन्वय हुन सके स्थानीय तहको आर्थिक समृद्धिमा टेवा पुग्ने उनको भनाई छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नदीजन्य उत्खननले जनप्रतिनिधि र राष्ट्र सेवकलाई बदनाम बनाएको उल्लेख गर्दै स्थानीय तहमा नदीजन्य पदार्थको उत्खननमा मापदण्ड विपरीत कार्य नगर्न आग्रह गरे ।
बाँकेमा विपद र स्थानीय समस्याको साझा धारणा बनाउन विगत एक वर्षदेखि ‘अन्तर स्थानीय तह समन्वय बैठक’ हुँदै आएको छ । आलोपालो बैठकको आयोजना गर्ने गरिएको यसपटकको बैठकको आयोजना जानकी गाउँपालिकाले गरेको हो ।
नेपालगन्ज उपमहानगरको विपद व्यवस्थापन शाखाको समन्वयमा जिल्लामा हुन सक्ने विपदका घटनाहरुबारे कार्यक्रममा प्रस्तुतिकरण गरिएको थियो भने आमन्त्रित गरिएका दाङका २ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले विपद बारे आफ्नो अनुभव सुनाएका थिए ।





0 Comments