नेपालमा ‘८९ प्रतिशत’ले घट्यो एचआइभी सङ्क्रमण

नेपालमा ‘८९ प्रतिशत’ले घट्यो एचआइभी सङ्क्रमण

नेपालगन्ज १४ मंसिर : नेपालमा एचआइभी सङ्क्रमितको सङ्ख्या घट्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ । विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सार्वजनिक तथ्याङ्कले नेपालमा एचआइभीको सङ्क्रमण घट्दै गएको देखाएको हो ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.सर्वेश शर्माले नेपालमा एचआइभी सन् २००० को तुलनामा ८९ प्रतिशत घटेको जानकारी दिए । उनी भन्छन्,“एचआइभी सङ्क्रमण घट्दै गएको छ । सन् २००० मा पाँच हजार छ सयमा नयाँ एचआइभी सङ्क्रमित थपिने गरेकोमा यो सङ्ख्या घटेर सन् २०२४ मा ६१४ पुगेको छ ।” 

एड्सको कारणले हुने मृत्यु दर पनि सन् २०१० को तुलनामा ७६ प्रतिशतले घटेको छ । सन् २०१० मा वार्षिक दुई हजार चार सय मानिसको एड्सका कारणले मृत्यु भएकोमा यो सङ्ख्या घटेर सन् २०२४ मा ५६९ पुगेको छ ।

त्यसैगरी, १४ वर्ष मुनिका बालबालिकामा एचआइभी सङ्क्रमण हुने दर पनि सन् २०१० को तुलनमा ८६ प्रतिशतले घटेको उनको भनाइ छ । 

उनका अनुसार सन् २०१०म २६० बालबालिकामा एचआइभी हुने गरेकोमा यो सङ्ख्या घटेर सन् २०२४ मा ३७ बालबालिकामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । 

नेपालमा सन् २०२४ को अन्त्यसम्म ३४ हजार ३३७ मानिसमा एचआइभी सङ्क्रमण भएको अनुमान गरिएको छ । सङ्क्रमित मध्ये ७७ प्रतिशत अर्थात २६ हजार ३७२ सङ्क्रमित उपचार लिएको डा.शर्मा बताउँछन् ।

नेपालमा वर्तमान एचआइभीको अवस्थालाई केन्द्रिकृत महामारीको रूपमा परिभाषित गरिने डा.शर्मा बताउँछन् । उनी भन्छन्, “एचआइभीको अवस्थालाई केन्द्रिकृत महामारीको रूपमा छ । यसको अर्थ एक वा सो भन्दा बढी एचआइभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआइभी सङ्क्रमण दर पाँच प्रतिशत भन्दा बढी तर, सामान्य जनसङ्ख्या वा प्रसूति सेवा लिएका गर्भवतीमा एचआइभी सङ्क्रमण दर एक प्रतिशत भन्दा कम हो ।” 

सुईद्वारा लागु पदार्थ प्रयोग गर्ने, यौनकर्मी, कारागारमा रहेका कैदी बन्दी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी यौनकर्मीमा एचआईभी सङ्क्रमण दर उच्च रहेको डा.शर्मा बताउँछन् ।

Duduwa Tato hawa Bachau Image

सन् २०२० मा सम्पन्न राष्ट्रिय सर्वेक्षणले नेपालमा सुईद्वारा लागु पदार्थ प्रयोग गर्ने तीन प्रतिशतमा एचआइभीको सङ्क्रमण रहेको देखाएको छ । यसैगरी, सन् २०१७ र २०१८ मा भएको सर्वेक्षण अनुसार महिला यौनकर्मीमा २.२ प्रतिशत र पुरुष समलिङ्गीमा ६.२ प्रतिशतका दरले एचआइभीको सङ्क्रमण रहेको देखिएको छ । 

सन् २०२४ मा सम्पन्न राष्ट्रिय सर्वेक्षण अनुसार भारतमा काम गर्न जाने नेपाली कामदारमा एचआइभीको सङ्क्रमण ०.२ प्रतिशत रहेको पाइएको छ ।

वयस्क जनसङ्ख्यामा ०.१३ प्रतिशत सङ्क्रमण रहेको छ । नेपालमा हरेक दिन १.७ जनामा एचआइभी सङ्क्रमण हुन्छ । 

सरकारले सन् २०३० सम्म एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । यसका लागि सरकारले ९५–९५–९५ र एचआइभी जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआइभी तथा एड्स सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको डा.शर्माले बताए ।

उनका अनुसार सरकारले २०२६ सम्ममा अनुमानित एचआइभी सङ्क्रमित मध्ये ९५ प्रतिशतको पहिचान गर्ने, एचआइभी सङ्क्रमण पुष्टि भएका ९५ प्रतिशतको उपचार गर्ने, एआरटी सेवा लिइरहेका एचआइभी सङ्क्रमित मध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ एचआइभी सङ्क्रमणलाई ९० प्रतिशतले कम गर्ने, आमा बच्चामा एचआईको सङ्क्रमण निवारण गर्ने, जन्मजात भिरिङ्गीको केस दर प्रति लाख जीवित जन्ममा ५० वा सो भन्दा कम गर्ने लक्ष्य लिएको छ ।