५० वर्षपछि गाउँमा पुग्यो बिजुली, चौफेरी गाँउमा चाडपर्व झैं खुशी र उत्साह

५० वर्षपछि गाउँमा पुग्यो बिजुली, चौफेरी गाँउमा चाडपर्व झैं खुशी र उत्साह

नेपालगन्ज ११ मंसिर : पश्चिम नेपालकै सबैभन्दा सुविधा सम्पन्न सहर नेपालगन्जको नजिकै भएर पनि विगत ५० वर्षदेखि विद्युत माग गर्दै आएका डुडुवा गाउँपालिका–१ चौफेरी र सो वरिपरिका बासिन्दाको बिजुली बाल्ने सपना पूरा भएको छ ।

डुडुवा गाउँपालिका–१ चौफेरीसहित वरिपरिका पाँच बस्तीमा ५० वर्षपछि अहिले पहिलोपटक विद्युत् पुगेकाले स्थानीयमा चाडपर्व झै खुशी र उत्साह देखिएको हो । सदरमुकामबाट दश किलोमिटर टाढा नभए पनि दशकौँदेखि उज्यालो, शिक्षा, स्वास्थ्य र सडक सुविधा नपाएका बासिन्दाले बत्ती बल्ने क्षणलाई ऐतिहासिक परिवर्तनको रूपमा लिएको जनाएका छन् ।

डुडुवा १ चौफेरीका ७० वर्षीय तिर्थराम यादवले बत्ती बालिएको क्षणलाई जीवनभरको प्रतीक्षा पूरा भएको क्षण बताए । उनले टुकीको धुवाँ खाँदै काटेको जीवनमा बत्ती आउला भन्ने आशा मरिसके पनि अहिले आएर बिजुली बाल्न पाउँदा अतिनै खुशी लागेको बताए ।

यादवका अनुसार चौफेरी वर्षौदेखि उपेक्षित रहेको बस्ती हो, यसलाई प्रकृतिले मात्रै ठगेको होइन, नेताहरुले पनि सधैँ बेवास्ता गर्दै आएका हुन् । भारतको दशगजा, राप्ती नदी र डुडुवा खोलाबीच टापुजस्तो भौगोलिक क्षेत्र बनेको चौफेरी लगायतका बस्तीहरू लामो समयदेखि राज्यको पहुँचभन्दा टाढा रहेका थिए ।

Duduwa Tato hawa Bachau Image

लामो प्रतिक्षापछि बत्ती बलेसँगै गाउँघर झलमल बनेको र स्थानीयले ठुलो पर्वसरह खुशी मनाएको देखिएको छ । स्थानीय रमेश यादवका अनुसार बत्ती पुगेपछि रातमा सुरक्षा अनुभूति बढेको र आपत्कालीन अवस्थामा केही देखिने भएकाले सहजता भएको बताए ।

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले जनताको वर्षौदेखिको सपना पूरा भएकोमा आफुलाई गर्व महसुस भएको बताए । उनले सो क्षेत्रका जनताका अन्य आवश्यकताहरु पनि छिटै पूरा हुने विश्वास दिलाए । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले धेरै लामो प्रतिक्षा भएको ठाउँमा विद्युत् पुर्याउन पाउँदा खुशी लागेको बताए ।

सबैलाई उज्यालो दिन प्राधिकरण अहोरात्र खटिरहेको पनि उनले जनाए । सो क्षेत्रमा ५० वर्षपछि पुगेको विद्युत् स्थानीयका लागि केवल बत्ती मात्र होइन, आगामी विकासको सङ्केत भएको अधिकांशको भनाइ छ । उनीहरुको साझा भनाइ छ, ‘अँध्यारो हट्यो, अब विकास पनि आओस् ।’