बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई मृ’त्युदण्डको सजाय, भनिन्– फैसला पक्षपातपूर्ण र राजनीतिबाट प्रेरित
File Photo
- | राजनीति | नेपाखबर | विदेश | अपराध–घटना
- २ मंसिर २०८२, सोमवार
- नेपाखबर
नेपालगन्ज १ मंसिर : बंगलादेशको अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।
ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२४ को अगस्टमा भएको विद्यार्थी आन्दोलनका क्रममा भएको हत्या र दमनको मुख्य योजनाकारका रूपमा उनीहरूलाई दोषी ठहर गरेको हो।
जनआन्दोलनपछि सत्ताच्युत भएकी हसिना विगत १५ महिनादेखि भारतमा शरण लिइरहेकी छिन् र उनको अनुपस्थितिमा नै यो फैसला सुनाइएको हो। फैसला सार्वजनिक भएसँगै बंगलादेशमा हिंसा भड्किएको छ र सरकारले देशभर उच्च सतर्कता अपनाएको छ।
अदालतको निर्णयपछि हुनसक्ने हिंसात्मक प्रदर्शनलाई रोक्न राजधानी ढाकामा १५,००० सुरक्षाकर्मी परिचालन गरिएको छ। ढाका महानगरीय प्रहरीले हिंसात्मक प्रदर्शनकारीलाई देख्नेबित्तिकै गोली चलाउन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। शनिबार र आइतबार गरी ढाकामा कम्तीमा दुईवटा बसमा आगजनी गरिएको थियो।
न्यायाधिकरणले हसिना र कमाललाई हत्याको आदेश दिएको र त्यसका लागि उक्साएकोमा दोषी ठहर गर्दै बंगलादेशमा रहेको उनीहरूको सम्पूर्ण सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ।
हसिनामाथि लागेका मुख्य ५ आरोप
हत्या र दमनः प्रहरी र सत्तारुढ दल अवामी लिगका कार्यकर्तालाई आम नागरिकमाथि आक्रमण गर्न उक्साएको, हिंसालाई बढावा दिएको र रोक्न असफल भएको।
घातक हतियारको प्रयोगः विद्यार्थी प्रदर्शनकारीहरूलाई दबाउन हेलिकप्टर र ड्रोनजस्ता घातक हतियार प्रयोग गर्न आदेश दिएको।
विश्वविद्यालयका छात्रको हत्याः जुलाई १६ मा बेगम रोकेया विश्वविद्यालयका छात्र अबू सैयदको हत्याको आदेश दिएको, षड्यन्त्र रचेको र अपराधमा संलग्न रहेको।
निहत्था प्रदर्शनकारीको हत्याः अगस्ट ५ मा ढाकाको चान्खारपुलमा ६ जना निहत्था प्रदर्शनकारीको हत्या गर्न सीधा आदेश दिएको, उक्साएको र षड्यन्त्र गरेको।
गोली हानी शव जलाएकोः पाँच प्रदर्शनकारीलाई गोली हानी हत्या गरेको, एकलाई घाइते बनाएको र तीमध्ये केहीको शव जलाएको तथा एक प्रदर्शनकारीलाई जिउँदै जलाउने जस्तो क्रूर कार्य गरेको ।
फैसला पक्षपातपूर्ण र राजनीतिबाट प्रेरित
यसैबीच, बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ढाका अदालतको फैसलाको कडा निन्दा गरेकी छन् । उनले फैसलालाई ‘पक्षपातपूर्ण र राजनीतिबाट प्रेरित’ भनेकी छन् ।
सोमबार अदालतबाट फैसला भएपछि शेख हसिनाका तर्फबाट पाँच पानाको लामो वक्तव्य जारी गरिएको छ । वक्तव्यमा भनिएको छ, “मृत्युदण्डको सजाय अन्तरिम सरकारले अवामी लिगलाई राजनीतिक शक्तिका रूपमा अवमूल्यन गर्ने एउटा तरिका हो ।” अवामी लीग शेख हसिनाको पार्टी हो ।
हसिनाले यसअघि यो मुद्दालाई ‘तमासा’ भनेकी थिइन् । आफूमाथिका सबै आरोप अस्वीकार गरेकी थिइन् ।
उनले भनेकी थिइन्, “मलाई मेरोविरुद्ध आरोप लगाउनेहरूको सामना उचित न्यायाधिकरणमा गर्न कुनै डर छैन, जहाँ प्रमाणहरूको निष्पक्ष मूल्यांकन र परीक्षण गर्न सकिन्छ ।”
उनले अन्तरिम सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालतसमक्ष आफूमाथिका आरोप लिएर आउन चुनौती दिएकी थिइन् ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आजै उनलाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।
हसिनामाथि गत वर्ष जुलाई–अगस्टमा बंगलादेशमा भएको विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको थियो । भारतमा निर्वासन जीवन बिताइरहेकी हसिनाको अनुपस्थितिमा नै उनीविरुद्ध मुद्दा चलाइएको थियो ।





0 Comments