नेपालगन्जको कुन क्षेत्रमा कति छ सरकारी भाडा ?
नेपालगन्ज २८ कार्तिक : नेपालगन्ज उपमहानगरपालिकाले यसअघि घरभाडाको स्वघोषणा गरी घरभाडा तिर्ने परिपाटीको अन्त्य गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०८२-०८३ का लागि नेपालगन्जका सबै वडाहरूमा घर बहाल कर असुलीका लागि न्यूनतम घरभाडा तथा जग्गा भाडाको मूल्यांकन तोकेको छ ।
नेपालगन्ज उपमहानगर– पालिकाको आर्थिक ऐन २०८२ का अनुसार, व्यवसायिक प्रतिसटर प्रतिकोठा जमुनाहदेखि ट्राफिक चोकसम्म ५ हजार, ट्राफिक चोकदेखि विद्युत प्राधिकरण जाने आदर्शनगर चोकसम्म ६ हजार, आदर्शनगर चोकदेखि गणेशमान चोकसम्म ६ हजार ५ सय, गणेशमान चोकदेखि विपी चोकसम्म १० हजार, विपीचोकदेखि गुल्म सम्म १३ हजार, गुल्मदेखि कारकाँदो चोकसम्म १२ हजार, कारकाँदो चोकदेखि नेपालगन्जको उत्तर सीमासम्म १० हजार निर्धारण गरिएको छ ।
त्यस्तै, ट्राफिक चोकदेखि विद्युत प्राधिकरणसम्म ६ हजार, विद्युत प्राधिकरणदेखि मालपोत कार्यालयसम्म ८ हजार, मालपोतदेखि नगरभवनसम्म १० हजार, नगरभवन देखि त्रिभुवन चोकसम्म १२ हजार, त्रिभुवन चोकदेखि त्रिवेणीमोड हुँदै सेतु विक चोकसम्म १५ हजार, सेतु विक चोकदेखि बसपार्क जाने हुलाकी राजमार्गसम्म ११ हजार व्यवसायिक प्रयोजनका लागि प्रतिसटर, कोठा भाडा निर्धारण गरिएको छ ।
व्यवसायिक प्रतिसटर, प्रतिकोठा गणेशमानचोकदेखि चारवाहिनीसम्म १० हजार, विपीचोकदेखि त्रिभुवन चोकसम्म १० हजार, त्रिभुवनचोकदेखि रानी तलाउसम्म १२ हजार, वडा प्रहरीदेखि फुल्टेक्रा चोकसम्म ६ हजार, त्रिवेणीमोडदेखि वडा प्रहरी कार्यालयसम्म ८ हजार, सेतु विक चोकदेखि पश्चिम रत्न राजमार्ग १० हजार, धम्बोझी चोक घरबारीटोल हुँदै त्रिवेणी चोकसम्म १४ हजार, विशाल चोक वडा नं. १२१८ को क्षेत्र ५ हजार, राँझादेखि आयल निगमसम्म ६ हजार लगायत घर बहाल असुलीका लागि न्यूनतम भाडादर कायम गरिएको छ ।
उपमहानगरपालिकाको आर्थिक ऐन २०८२ मा चालु आ.व. को सम्पत्ति कर आ.व. भित्र नबुझाएमा अर्को आ.व. मा १ वर्षको बक्यौता भए १०% र एक आब भन्दा बढि भए २५% का दरले जरिवाना लिने व्यवस्था गरिएको छ ।
करदाताले पेश गरेको विवरण झूटा भए छानविन गरी लाग्ने कर रकमको अधिकतम शत प्रतिशत जरीवाना लिई असुल गर्ने, सम्पत्ति कर बाँकी रहेका करदातालाई उपमहानगरपालिकाले उपलब्ध गराउने सेवा, सुविधा, सिफारीस रोक्का राखिने, सम्पत्ति कर असुल भई सकेको कुनै पनि सम्पत्तिमा सोहि आवमा पुनः कर लाग्ने छैन, मालपोत, बहाल विटौरी, घरजग्गा कर बक्यौता रहेको भए सम्पत्ति करको साथै असुल गर्ने, सम्पत्ति कर बुझाउँदा न.पा.मा बुझाउनु पर्ने व्यवसाय कर, बहाल करका साथै उपमहानगरपालिकाले तोकेको अन्य कर समेत दाखिला गरी असुल गर्ने, करदाताको सम्पत्ति घटबढ भएमा न.पा.ले उपलब्ध गराएको नमुना बमोजीमको फारमभरी करदाता स्वयमले पेश गर्नुपर्ने छ, विदेश जाने प्रयोजनको लागि करदाताले चलन चल्तीको रेटमा मूल्याकंन गर्न चाहेमा स्थलगत अध्ययन गरी चलन चल्तिको मूल्य अनुसार मूल्याकंन गरि कर लिई सोहिलाई कायम गर्ने, उपमहानगरपालिकाको आर्थिक ऐनमा उल्लेख छ ।





0 Comments