यसवर्ष धान उत्पादन घट्ने, तीन अर्ब ५५ करोडको क्षति

यसवर्ष धान उत्पादन घट्ने, तीन अर्ब ५५ करोडको क्षति

नेपालगन्ज २६ कार्तिक : बेमौसमी वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । 

वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा रु तीन अर्ब ५५ करोडको क्षति भएको तथ्यांकका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको विश्लेषणका आधारमा धानको उत्पादन घट्ने प्रक्षेपण गरिएको हो ।

गत वर्षमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएकामा त्यसको तीन प्रतिशत अर्थात् करिब तीन लाख मेट्रिक टन कम उत्पादन हुने आकलन गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । उनका अनुसार जलवायु परिवर्तनको प्रभावले बाढी, वर्षा, भू–क्षय लगायत विपद्का कारण सबैभन्दा धेरै क्षति कृषि क्षेत्रमा भएको छ ।

विगत चार–पाँच वर्षदेखि धान उत्पादनमा वृद्धि हुँदै आइरहेकाले यसपटक ६० लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको थियो । क्षतिले लक्ष्यमा पुग्न गाह्रो हुने देखिएको मन्त्रालयले जनाएको छ । वर्षाले धान पाक्ने समयमा किसानले समयमै धान काट्न नपाएको र काटेको धान उठाउन नपाएका कारण सम्बन्धित किसानलाई ठुलो क्षति भएको हो ।

Duduwa Tato hawa Bachau Image

खेतमै काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको तथा वर्षाले धानबालीमा पुर्याएको क्षतिका कारण धान उत्पादनमा समेत कमी आउने प्रक्षेपण गरिएको छ । मौसम विभागले सम्भावित वर्षाको जानकारी समयमै गराएकाले मन्त्रालयले पनि सोही अनुसारको सूचना किसानलाई प्रसारण गरी मौसम पूरा सफा भएपछि मात्र धान काट्न सुझाव दिएकाले पनि क्षति न्यूनीकरणमा सहयोग पुगेको सूचना अधिकारी जोशीले जानकारी दिए । मन्त्रालयले किसानलाई मल, बीउबिजन, प्रविधि, प्राविधिक सीप लगायतमा सहयोग उपलब्ध गराउँदै आएको छ ।