जेनजी शहिदको सम्झनामा फुटबलको श्रद्धाञ्जली सभा

जेनजी शहिदको सम्झनामा फुटबलको श्रद्धाञ्जली सभा

नेपालगन्ज ३ असोज : जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने युवाहरुको सम्झनामा बाँके जिल्ला फुटबल संघले श्रद्धाञ्जली सभा गरेकोछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगन्जको धम्बोझी स्थित विरेन्द्र चोकमा श्रद्धाञ्जली सभाको गरेको हो ।

श्रद्धाञ्जली सभामा जेन आन्दोलनको क्रममा मृत्युवरण गरेका नेपालगन्ज उपमहानगरपालिका–१ निवासी आयुष थापा र शुलभ श्रेष्ठसँगै आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरुको सम्झनामा दिप प्रज्वलन समेत गरिएको थियो । 

श्रद्धाञ्जली सभामा फुटबल संघका पदाधिकारी, सदस्य, प्रशिक्षक तथा विभिन्न संघका पदाधिकारी, प्रशिक्षक तथा आमनागरिकहरुको सहभागिता रहेको थियो ।

नेपालगन्ज उपमहानगरपालिका निर्वतमान उपप्रमुख उमाथापा मगर, बाँके जिल्ला महिला फुटबल समिति अध्यक्ष नितु चन्द, पुर्व फुटबल खेलाडी शान्ति सिंह, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश फुटबल संघका निवर्तमान उपाध्यक्ष सुर्यमणी अधिकारी लगायतले दिप प्रज्वलन गरेर श्रद्धाञ्जली सभाको शुभारम्भ गरेका थिए ।

सुशासन र परिवर्तनको लागि आवाज उठाएका युवाहरुको हिम्मत र बलिदानीलाई सम्मान गर्दै संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताए । उनले भने,‘हामीनिकै दुखित छौं । देशले ठुलो क्षति व्यहोर्नु परेको छ । आन्दोलनमा नेपालगन्जले दुई युवाहरु गुमाएको छ । उहाँहरुको सम्मानको लागि पनि कार्यक्रम गरिएको हो ।’

Duduwa Tato hawa Bachau Image

आन्दोलनमा मृत्यु भएका सुलभ श्रेष्ठ जिल्ला स्तरीय क्रिकेट खेलाडी हुन् । उनले बाँके जिल्लामा हुने स्थानीय प्रतियोगितामा भाग लिने गरेको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले बताए । जेनजी आन्दोलनका कारण संघले नेपालगन्ज रंगशालामा आयोजना गरिरहेको बाँके जिल्ला स्तरीय यु–१४ छात्र–छात्रा फुटबल प्रतियोगिता समेत स्थगित गरेको छ । प्रतियोगिता वर्तमान अवस्थालाई मध्यनजर गर्दै दशैं पछि आयोजना गर्ने तयारी भएको महासचिव खत्रीले बताए ।