जेन–जी आन्दोलन: एक नयाँ युग को सुरुवात

जेन–जी आन्दोलन: एक नयाँ युग को सुरुवात

-डा. बैकुण्ठ ओली

हालै नेपालभरि फैलिएको जेन–जी (Gen Z) अर्थात् नयाँ पुस्ताको आन्दोलनले राजनीतिक र सामाजिक संरचनामा ठूलो हलचल ल्याएको छ। डिजिटल युगमा हुर्किएको यो पुस्ता लामो समयदेखि जारी भ्रष्टाचार, वंशवाद, र बेरोजगारीको समस्याले त्रस्त मात्र थिएन, तर जब सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो, त्यही क्षण उनीहरूको आक्रोश विस्फोटक रूपमा सडकमा पोखियो।सामाजिक सञ्जाल आजको युवा पुस्ताको आवाज मात्र नभई उनीहरूको पहिचान र संगठनको माध्यम पनि हो। त्यसमा रोक लगाइनु उनीहरूको स्वतन्त्रतालाई कुण्ठित गर्ने कदमका रूपमा व्याख्या भयो।

हजारौं युवाहरू राजधानीदेखि सुदूर ग्रामीण क्षेत्रसम्म सडकमा उत्रिए र “भ्रष्टाचार अन्त्य गर”, “नेपो बेबिजको राजनीति बन्द गर” जस्ता नारा गुञ्जिन थाले। आन्दोलनले छोटो समयमा अभूतपूर्व ऊर्जा प्राप्त गर्‍यो, जसले देशभरका सर्वसाधारण नागरिकलाई समेत आकर्षित गर्‍यो।तर यो आन्दोलन शान्तिपूर्ण मात्र रहेन। सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको भिडन्तले हिंसात्मक रूप लिँदा कम्तीमा १९ जनाले ज्यान गुमाए भने सयौं घाइते भए। आँसु ग्यास, पानीको तोप, र गोली प्रहारसम्मको अवस्था सिर्जना भयो। पीडादायी घटनाहरूले आन्दोलनलाई अझ भावनात्मक उचाइमा पुर्‍यायो।

यो पनि  काठमाडौँदेखि कराँचीसम्मः प्रदूषणको चपेटामा दक्षिण एशिया

सरकारमाथि दबाब बढ्दै जाँदा अन्ततः प्रतिबन्ध हटाउनुपर्‍यो।युवा पुस्ताको दृढताले यतिमै रोकिएन। व्यापक असन्तोष र निरन्तर दबाबका कारण प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्‍यो, जुन घटनालाई आन्दोलनको ऐतिहासिक सफलता मानिएको छ। विगतमा विभिन्न आन्दोलनहरूले शासन परिवर्तन गरेका भए पनि, यसपटक पहिलो पटक डिजिटल पुस्ताले सामाजिक सञ्जाल र सडक संघर्षलाई एकैसाथ प्रयोग गरेर सत्ता संरचना हल्लाउन सफल भएको छ। यो आन्दोलनले देखाएको छ कि जेन–जी अब केवल दर्शक मात्र छैनन्, बरु सक्रिय निर्णायक शक्ति बनेका छन्। उनीहरूको संलग्नता र विद्रोहले नेपालको राजनीतिक भविष्यलाई नयाँ दिशातर्फ मोडेको छ। अझै ठूला चुनौतीहरू बाँकी भए पनि, यो आन्दोलनले देशलाई नयाँ पुस्ताको हातमा जिम्मेवारी सुम्पनुपर्ने सन्देश प्रष्ट रूपमा दिएको छ।

अब कुरा रह्यो राष्ट्रका संरचना नष्ट भएको बारे।देश बनाउने कुरा चारकुना मिलेको घडेरीमा घरको नक्सा कोरे जस्तो सजिलो कुरा पक्कै पनि होइन। राष्ट्रका संरचना ध्वस्त अवश्य भए,परन्तु कसैको जरा नउखोली कसैको ओखती लाग्दैन भने जस्तै नयाँ युगको परिकल्पना गर्दा हरेक पक्षले त्यसको मूल्य चुकाउनु पर्दछ यस आन्दोलनमा कैयौँ योद्धाले ज्यान गुमाए र देशले पनि आफ्नो मूल्य चुकाएको अवश्य हो।

Duduwa Tato hawa Bachau Image

यो पनि  वायु प्रदूषण : काठमाण्डौको दीगो विकासका लागि बढ्दो चुनौती

दश कदम अगाडि बढ्नको लागि चार कदम पछाडि सर्नु सार्थको ।हो संरचना पूर्ण निर्माण अवश्य हुनेछन् परन्तु कुरा ऐतिहासिक रह्यो। संसारमा कैयौं उदाहरण छन्। विश्वका धेरै ऐतिहासिक स्थलहरू युद्ध, आन्दोलन वा प्रलयकारी घटनाले ध्वस्त भए पनि पुनःनिर्माणपछि अझ भव्य रूपमा अडिएका छन्। जापानको हिरोशिमा पीस मेमोरियल द्वितीय विश्वयुद्धको एटम बमपश्चात शान्तिको प्रतीक बनेको छ भने पोल्याण्डको वारसाको पुरानो शहर युद्धपछि युनेस्कोको सहयोगमा जस्ताको तस्तै पुनः जिवन्त बनाइयो। बोस्नियाको स्टारी मोस्ट पुल १९९० को दशकको युद्धमा भत्किएर फेरि पुनःनिर्मित भयो। जर्मनीमा पनि यस्तै उदाहरण भेटिन्छ—ड्रेस्डेन फ्राउएनकिर्खे र बर्लिन सिटी पेलस युद्धपश्चात पुनःउत्थान गरिएका चर्च र महल हुन्।

इटालीको थिएटर सान कार्लो पटक–पटक विनाश भएर पनि निरन्तर पुनःनिर्माणले जीवित छ। हाम्रो आफ्नै नेपालमा २०७२ सालको भूकम्प र विगतका आन्दोलनपछि काठमाण्डौ दरबार स्क्वायरका मन्दिरहरू पुनःनिर्माण हुँदै छन्। भारतमा समेत विवाद र आन्दोलनपछि अयोध्या राम मन्दिर नयाँ रूपमै उदाएको छ। यी सबै उदाहरणहरूले देखाउँछन् कि विनाशपछि पनि संस्कृतिको जग पुन उभिन सक्छ र मानवीय इच्छाशक्ति इतिहासलाई पुन जिवन्त बनाउन सक्षम हुन्छ।यति गर्दागर्दै पनि केही अराजकता पक्कै भएका हुन् जस्तै कारागारबाट कैदी छाडिनु, सर्वोच्च अदालत जलाइनु यी दुई कुरा निकै संवेदनशील हुन्। हुन त सिंहदरबार लगायतका संरचना पनि कम संवेदनशील अवश्य होइनन् परन्तु अदालत यस्तो ठाउँ हो जहाँ कैयौँ वर्ष पुराना केसहरू वर्षौंपछि अनुसन्धान पश्चात निर्दोषले न्याय पाउन सक्दछ। त्यस मानेमा अदालतका कागजातहरू निकै महत्वपूर्ण हुन्छन्।

अन्त्यमा उनीहरूले उठाएका एजेण्डा निकै सम्मान योग्य छन्। जस्तै हिन्दू राष्ट्र, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्था,प्रदेश संरचना पूर्णरूपमा खारेज,दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने,राष्ट्रिय सभा गैरदलीय स्थानीय तह गैरदलीय,४६ साल यता सार्वजनिक पदमा बसेकाहरू सबैको सम्पत्ति छानबिन गर्ने,भ्रष्टाचारका काण्डहरूको स्वतन्त्र र न्यायिक छानबिन र कारबाही गर्ने।हो नेपाल अब नवयुगमा प्रवेश गरेको छ। हामी सबै एकजुट भई राष्ट्र निर्माण मा अग्रसर हुनुपर्दछ।