सिँचाईको अभाव र आकाशे पानीको भर पर्दा बाँकेमा ८५ प्रतिशत धान रोपाइँ
नेपालगन्ज ११ साउन : सिँचाईको अभाव र आकाशे पानीको भर पर्दा साउन दोस्रो हप्तासम्म बाँकेमा जम्मा ८५ प्रतिशत धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार गत वर्ष यो समयसम्म जिल्लामा धान रोपाइँ सम्पन्न भइसकेको थियो ।
कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतले पछिल्लो समयमा निरन्तर वर्षा भएपछि रोपाइँ तीव्र बन्दा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ भएको जनाए ।
गत वर्ष यति बेलासम्म रोपाइँ सकिएको जनाउँदै उनले यसपटक बर्षा ढिलो शुरु भएकोले रोपाइँ सम्पन्न हुन अझैं केही दिन लाग्ने बताए । कृषि प्राविधिक अधिकृत बस्नेतले असार १५ गते धान दिवस मनाइरहँदा बाँकेमा जम्मा ०.५ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।
जिल्लाको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा सबैभन्दा कम रोपाइँ भएको जानकारी आएको जनाउँदै उनले नरैनापुरमा हालसम्म ५५ प्रतिशत मात्रै रोपाइँ भएको बताए । बर्षा ढिलो गरि शुरु भएकोले नरैनापुरमा रोपाइँ सुस्त गतिमा भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
यो पनि वर्षा ढिलो सुरु हुँदा बाँकेमा ६० प्रतिशत धान रोपाइँ
सो कार्यालयका अनुसार जिल्लाको सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा धान रोपाइँ भएको छ भने अन्य पालिकाहरुमा पनि रोपाइँ राम्रो भएको छ । पानीको अभावले असारको दोस्रो सातापछि जिल्लामा सुरु गरिएको रोपाइँ विभिन्न स्थानमा अझैपनि जारी रहेको छ । सिक्टा सिँचाइ आयोजनाको नहर र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गर्ने किसानको संख्या धेरै रहेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
यो पनि बाँकेमा ४४ प्रतिशत धान रोपाइँ सकियो
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार सिक्टा सिँचाइ आयोजनाको पूर्वी र पश्चिमी मूल नहर तथा शाखा प्रशाखा नहरहरुबाट २५ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकोले जिल्लामा धान रोपाइँ सहज र सरल भएको छ । बाँके जिल्लाका अधिकांश किसानले राधा चार मोटो धान र केही भारतीय हाइब्रिड जातका धानको रोपाइँ गर्दै आएका छन् । बाँकेमा कुल खेतीयोग्य ५५ हजार ८२६ हेक्टर क्षेत्रमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुँदै आएको छ ।





0 Comments