भारतीय च्यानलहरूले बन्द गरे नेपालमा प्रसारण
- | नेपाखबर | सूचना-प्रविधि
- १९ साउन २०८१, शनिवार
- नेपाखबर
नेपालगन्ज १९ साउन : भारतीय टेलिभिजन च्यानलहरूले नेपालमा प्रसारण बन्द गरेका छन् । करिब २ वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो ।
‘१५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुनसकेको छैन,’ उनले भने ।
च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको सहसचिव ठाकुरले बताए ।
१ साउन २०८० देखि यो प्रणाली लागू भएपछि भने त्यस्ता च्यानलहरूको प्रसारण नै रोकिएको थियो तर, सरकार पछि हट्ने सङ्केत नपाएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार भएका थिए ।
सुरुआती समयदेखि नै भारतीय टेलिभिजन च्यानलहरूले आलाकार्टा प्रणाली पालना गर्न आनाकानी गर्दै आइरहेका छन् ।
उनीहरू प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने भन्दै विरोधमा छन् । मन्त्रालयकानुसार हाल सबै विदेशी च्यानल प्रदायकको करिब एक अर्ब विदेशी मुद्रा सिफारिस हुनसकेको छैन । -रासस





0 Comments