सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति पत्रकार महासंघको आपत्ति
- | नेपाखबर | सूचना-प्रविधि
- १९ भदौ २०८२, बिहिवार
- नेपाखबर
नेपालगन्ज १९ भदौ : नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
महासंघले बिहीबारदेखि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तयारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै असहमति प्रकट गरेको हो।
यो पनि फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गरिदैँ : दूरसञ्चार प्राधिकरणको सेवा प्रदायक संघलाई निर्देशन
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामात्र होइन, नागरिकको सूचनाको हक समेत प्रभावित हुने देखिन्छ। यस पक्षप्रति सरकारले ध्यान दिन नसकेकोमा महासंघ आश्चर्य प्रकट गर्दछ।’
महासंघले सामाजिक सञ्जाल नियमन आवश्यक भए पनि त्यसले प्रेस स्वतन्त्रता र नागरिकको हक–अधिकारमा असर पर्नु नहुनेमा जोड दिएको छ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि माध्यम नियन्त्रणको कदमलाई महासंघले स्वीकार गर्ने छैन। नागरिकको सूचनाको हक र स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाइयोस्,’ महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।





0 Comments