फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गरिदैँ : दूरसञ्चार प्राधिकरणको सेवा प्रदायक संघलाई निर्देशन
सञ्चार मन्त्रालयमा सूचीकृत नभएका यी सञ्जाल बन्द हुनेछन्
- | राजनीति | अर्थ | नेपाखबर | सूचना-प्रविधि
- १९ भदौ २०८२, बिहिवार
- नेपाखबर
नेपालगन्ज १९ भदौ : सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब कुन–कुन सामाजिक सञ्जाल नेपालमा चलाउन सकिन्छ भन्ने विषयमा चौतर्फी चासो बढेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र पोपोलाइभ गरी पाँच वटा प्ल्याटफर्म सूचीकरण भइसकेका छन् । यी प्ल्याटफर्म बन्द हुने छैनन् ।
नेपालमा यी प्ल्याटफर्महरू सञ्चालन हुनेछन् । मन्त्रालयका अनुसार टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा छन् । बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सूचीकरण नभएका फेसबुक लगायतका सामाजिक सञ्जाल भने बन्द गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले क्रमशः बन्द गरिने सूचना मार्फत जानकारी गराएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार सूचीकरणका लागि नआएका प्ल्याटफर्मलाई नेपालभरि नचल्ने गरी रोक लगाउन लागिएको हो ।
त्यस्तै बन्द गरिने सञ्जालहरू सूचीकृत गरिएको खण्डमा पुनः खोलिने पनि सरकारले जनाएको छ । ९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । उक्त म्याद गएरातिदेखि सकिएको थियो ।
सरकारको उक्त निर्णय बेवास्ता गरिएपछि आज सञ्चार मन्त्रालयले पुनः मन्त्रीस्तरीय निर्णय गर्दै नेपालभरि सूचीकृत नभएका सञ्जालहरू चल्नबाट रोक लगाउने निर्णय गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार नेपालमा प्रयोगमा आएका सञ्जालमध्ये नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो सूचीमा राखेका र फेला पारेका सञ्जालहरूमाथि आज निर्णय भएको हो ।
सञ्चार मन्त्रालयमा सूचीकृत नभएका यी सञ्जाल, जुन बन्द हुनेछन्
–फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर(एक्स), लिंक्ड इन, स्न्याप च्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो रहेकाछन् ।
यसैबीच, नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको छ।
बिहीबार प्राधिकरणले विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा समाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको हो ।
प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२÷०५÷१९ को मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिक, २०८० बमोजिम नेपालमा सूचीकरण नभई नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्यवस्थाका लागि निर्णयानुसार जानकारी गराइएको छ ।
प्राधिकरणले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स(ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट,डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा,टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई बन्द गर्न आइएसपीहरूलाई निर्देशन दिएको हो ।





0 Comments