नेपालगन्ज १० नाइट रनका विजेताले पाउनेछन् थाइल्याण्डको बाङ्सेन रनमा अवसर

नेपालगन्ज १० नाइट रनका विजेताले पाउनेछन् थाइल्याण्डको बाङ्सेन रनमा अवसर

नेपालगन्ज १३ भदौ : नेपालगञ्ज १० नाइट रनका विजेताले थाइल्याण्डको बाङ्सेनमा हुने विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने भएका छन् ।

समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा वर्षमा तीनवटा विश्वस्तरीय रनिङ इभेन्ट आयोजना हुने गर्दछन् । बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम लेभलको इभेन्ट हो भने बाङ्सेन ४२ र बाङ्सेन १० इलाइट लेभल इभेन्ट हुन् ।

नेपालगन्ज १० नाइट रनको मातृ इभेन्ट धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरी र बाङ्सेन सिरिजका संस्थापक एवं प्रबन्ध निर्देशक रुट जिरोअजवानिचकर्नले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालगन्ज म्याराथनको सिफारिसमा जाने खेलाडी, अफिसियल लगायतलाई बाङ्सेन सिरिजमा निःशुल्क दर्ताका साथै आतिथ्यता गरिनेछ भने बाङ्सेन सिरिजको सिफारिसमा नेपालमा नेपालगन्ज म्याराथनले सोही सुविधा प्रदान गर्नेछ ।

‘यो सहमतिले नेपाली धावक, आयोजक, अफिसियललगायतलाई सिक्ने अवसर मिल्नेछ । धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने, छिमेकी देशमै विश्वस्तरीय म्याराथन आयोजना भइरहेका छन्, यसको लाभ लिनेतर्फको अग्रसरता हो, यसका लागि बाङ्सेन सिरिजका संस्थापक रुटलाई बिशेष धन्यवाद दिन चाहन्छु ।’

बाङसेनको सिफारिसमा थाइल्याण्डबाट आउने पाहुनालाई नेपालगन्ज म्याराथन, नेपालगन्ज १० नाइट रन, काठमाडौं २५ हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्समा सहभागी गराइने छ । यी सबै नेपालगन्ज म्याराथनकै सिरिज हुन् ।

वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)बाट प्रमाणीकरण भएको नेपालकै सबैभन्दा सरल रुटमा हुने नेपालगन्ज नाइट रन हरेक असोज ३ गते (सेप्टेम्बर तेस्रो साता) संविधान दिवसका अवसरमा हुने गर्दछ, जहाँ नेपालकै पहिलो एम्स सदस्य धारा नेपालगञ्ज म्याराथन ११ बर्षदेखि निरन्तर हुँदै आएको छ ।

बाङ्सेनसँगको साझेदारीपछि नेपालगन्ज म्याराथनका विजेता सहभागी हुने अन्तराष्टिय दौडको संख्या बढेको छ । यसअघि नेपाल रन (युके) सँगको सहकार्यमा विश्व प्रसिद्ध लण्डन म्याराथनमा विगत दुई बर्षदेखि अवसर दिँदै आएको छ । यसबर्षदेखि विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा सहभागी गराउने तयारी गरिरहेको छ । त्यस्तै, यसबर्षदेखि जापानको ओसाका म्याराथनमा समेत अवसर दिने तयारी छ ।

Duduwa Tato hawa Bachau Image

नेपालगन्ज म्याराथनको छातामुनि करिब आठ वटा इभेन्ट बार्षिक रुपमा नियमित आयोजना भइरहेका छन् । यसमा गौघाट ग्रीन रन असोज २८ गते, राप्तीसोनारी नेचर रन कात्तिक १ गते सन्चालन गर्ने तयारी रहेको छ ।

त्यसैगरी धारा नेपालगन्ज म्याराथन मंसिर ६ गते शनिबार (नोभेम्बर तेस्रो साताको शनिबार) हुँदैछ भने त्यसको अघिल्लो दिन नेपालगन्ज कनक्लेवको पाँचौँ संस्करण हुनेछ ।

त्यस्तै कर्णाली हाफ म्याराथन मंसिर अन्तिम शनिबार, काठमाडौँ २५के हेरिटेज रेस मे १ मा हुनेछ भने एम्ससँगको सहकार्यमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स अप्रिल मसान्तमा हुनेछ । एम्सको दुई वटा पूर्णकालीन सदस्यता लिने नेपालगञ्ज नेपालको एकमात्र सहर हो ।