उर्लिएको राप्तीमा जोखिम मोलेर दाउरा संकलन
- | नेपाखबर
- २२ साउन २०८२, बुधवार
- नेपाखबर
नेपालगन्ज २१ साउन : करिब ६ घण्टा लगातार परेको पानीले राप्ती नदीको जलसतह भरियो । जिल्ला दैवीप्रकोप उद्धार समितिले नदीको जलसतह बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध जारी ग¥यो । नदीमा पानीको सतह बढिरहेकाले जिल्लाका सम्बद्ध अधिकारी बाढीको चिन्ता गरिरहेका थिए । नदी आसपासका बासिन्दा भने बाढीले बगाएर ल्याएको दाउरा छोप्न नदी किनारमा भरिए । बिहानैदेखि राप्ती नदीको पुल छेउछाउमा पुगेका स्थानीयले जोखिम मोलेर दाउरा संकलन गरे ।
दिउँसो एक बजेसम्ममा उनीहरुले वर्षभरीलाई पुग्ने दाउरा जम्मा गरिसकेका थिए । नदी किनारमा दाउरा, दाउरा बोक्नलाई ल्याइएका ट्याक्टर, अटोरिक्सा, साइकल भरिभराउ देखिन्थे ।
कम्दीका रामचन्द्र यादवले बाढीमा आएको दाउरा संकलन गरेर वर्षभरी आगो बाल्ने बताए । ‘एक दिन जोखिम मोलेर दाउरा टिप्दा वर्षभरी खाना पकाउने दाउरा पुग्छ,’ यादवले भने, ‘मैले मात्रै होइन, गाउँका सबैले दाउरा टिप्ने गर्छन् ।’
उनले साइकलमा दाउरा राखेर ओसारिरहेका थिए । बगेर आएको दाउरालाई कटियाले आफूतिर तान्ने र छेउमा आएपछि समात्ने गरेर स्थानीयले ट्याक्टरका ट्याक्टर दाउरा जम्मा गरेका थिए ।
नदी उर्लिएको बेलामा दाउरा टिप्न जादा ज्यानको जोखिम हुने भन्दै स्थानीय प्रशासनले बाढी आएको बेलामा नदी छेउछाउमा नजान र दाउरा संकलन नगर्न चेतावनी दिने गर्दछ । स्थानीयवासी भने दाउरा छोप्न तँछाडमछाड गरेका हुन्छन् ।
वर्षेनी राप्तीमा आउने बाढीमा आफ्नो ज्यान जोखिममा हालेर उनीहरुले दाउरा संकलन गर्ने गर्दछन् । यसरी संकलन गरेका दाउरा उनीहरुले भण्डार गरि राख्छन् । दशैंतिहारसंगै पुसमाघमा उनीहरुले नेपालगन्जमा लगेर दाउरा बिक्री गरि जिविकोपार्जन गर्नेगर्छन् ।
प्रहरी प्रशासनले भने जोखिम मोलेर दाउरा सङ्कन नगर्न भने पनि स्थानीयले ज्यान जोखिममा राखेर दाउरा सङ्कलन गरिरहेको देखिन्छ । यसमा प्रशासनले हस्तक्षेप भने गरेको छैन ।





0 Comments