राप्ती नदीको धार परिवर्तन, १२ बढी गाउँ सुरक्षित

राप्ती नदीको धार परिवर्तन, १२ बढी गाउँ सुरक्षित

नेपालगन्ज १७ साउन : बाँकेको राप्तीसोनारी गाउँपालिका खल्ला झगडियास्थित राप्ती नदीमा जनताको तटबन्ध कार्यक्रम लमहीले आपतकालीन तटबन्ध निर्माण सम्पन्न गरेपछि राप्ती नदीले धार परिवर्तन गरेको छ ।

आपतकालीन तटबन्धका कारण राप्ती नदीले धार परिवर्तन गरेकोले बाढीको उच्च जोखिममा परेका राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्तीहरु खतरामुक्त भएको जनताको तटबन्ध कार्यक्रम लमहीले जनाएको छ ।

दुई वर्षअघि राप्ती नदीमा आएको ठुलो बाढीले पक्की तटबन्ध बगाएपछि बजेटको अभाव जनाउँदै नयाँ तटबन्ध निर्माण हुन सकेको थिएन, जसले गर्दा सो वरिपरिका करिब एक दर्जन गाउँबस्ती डुबानको उच्च जोखिममा थिए ।

जनताको तटबन्ध कार्यक्रम लमहीका आयोजना प्रमुख डा. नारायण सुवेदीले छोटो समयमा दिनरात खटिएर काम गरी कटान रोक्न सिमेन्टको पोल, बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा तथा जाली प्रयोग गरी नयाँ प्रविधिको माध्यमबाट चार सय मिटर लामो आपतकालीन तटबन्ध निर्माण सम्पन्न गरिएपछि नदीले धार परिवर्तन गरेको बताए ।

उनका अनुसार आपतकालीन तटबन्ध निर्माण गर्दा नदी बगिरहेको क्षेत्रमा तीन मिटर लामो १०÷१० सेन्टिमिटर मोटाइ भएको छ वटा सिमेन्टको पोल जोडेर आरसीसी पर्कोपाइन तयार पारिएको छ । करिब पाँच क्वीन्टल तौल भएको आरसीसी पर्कोपाइन दुई वटा लहर बनाएर नदीमा राखिएको छ । आरसीसी पर्कोपाइन नदीमा राख्न यस क्षेत्रमा क्रेन नभेटिएपछि बुटबलबाट ४० मिटर लामो बुम भएको क्रेन ल्याइएको थियो ।

राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले आपतकालीन तटबन्ध निर्माण सकिएपछि नदीको धार परिवर्तन भई कटान रोकिएको जनाउँदै डुबानको त्रास धेरै हदसम्म हटेको बताए ।

उनले जनप्रतिनिधि र ठेकदारभन्दा पनि बढी खटिएर जनताको तटबन्ध कार्यक्रम लमहीका प्रमुख तथा कर्मचारीले द्रुत गतिमा आपतकालीन तटबन्ध निर्माण गराएकाले बाढी र डुबानको त्रासबाट स्थानीयले राहत महसुस गरेको बताए ।

दुई वर्षदेखि माग गर्दै आए पनि तटबन्धको माग सुनुवाइ नभएको तर अहिले जनताको तटबन्ध कार्यक्रमले दुई महिना पनि नलगाई अस्थायी तटबन्ध बनाई कटान रोक्न सफल भएको राप्तीसोनारी ७ खल्ला झगडियाका स्थानीय दुर्गाप्रसाद पाण्डेले बताए । उनले इच्छाशक्ति भए जुनसुकै काम पनि गर्न सकिने रहेछ भन्ने पुष्टि यो तटबन्ध निर्माणले गरेको बताए ।

Duduwa Tato hawa Bachau Image

उता, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले आपातकालीन तटबन्ध समयमै निर्माण भएकाले अब डुबान नहुने निश्चित भएको बताए । उनले अब सो वरिपरिका एक दर्जनभन्दा बढी गाउँबस्तीका जनताले वर्षामा पनि राती आरामसँग सुत्न पाउने बताए ।

खल्ला झगडियामा अस्थायी तटबन्ध निर्माण पुराभएकाले अब फत्तेपुर जरैयास्थित राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण कार्य शुरु गरिने जनताको तटबन्ध कार्यक्रम लमहीका प्रमुख डा. सुवेदीले बताए ।

खल्लाझगडिया क्षेत्रमा चार सय मिटर लामो पक्की तटबन्ध मङ्सिर २०८३ सम्म सम्पन्न गर्नेगरी साई माँ दुर्गा भिन्सी जेभीले छ करोड पाँच लाख रुपैयाँको लागतमा ठेक्का लिएर काम शुरु गरेको छ । सोही ठेक्काअन्तर्गत आपातकालीन सो तटबन्ध निर्माण गरिएको र वर्षा सकिएलगत्तै पक्की तटबन्ध निर्माण शुरु गरिने जनताको तटबन्ध कार्यक्रम लमहीले जनाएकोे छ ।