एक वर्षमा ५७२ जना महिलाको जमुनाहा नाकाबाट उद्धार

एक वर्षमा ५७२ जना महिलाको जमुनाहा नाकाबाट उद्धार

नेपालगन्ज १६ साउन : मानव बेचबिखनको अत्यधिक जोखिममा रहेको नेपालगज्जस्थित जमुनाहा नाकाबाट गत एक वर्षको अवधिमा बेचबिखनको उच्च जोखिममा रहेका ५७२ जना महिला तथा किशोरीको उद्धार गरिएको छ ।

मानव बेचबिखन रोक्ने कार्यमा सक्रिय गैरसरकारी संस्था माइती नेपालले बाँकेको जमुनाहा नाकाबाट गत एक वर्षको अवधिमा ५७२ जना महिला र किशोरीको उद्धार गरेको जनाएको छ ।

माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले विभिन्न बहाना र प्रलोभन दिएर पश्चिम नेपालका दाङ, सुर्खेत, सल्यान, दैलेख र जाजरकोट लगायतका जिल्लाबाट ल्याई नाका पार गराउन लाग्दा ५७२ जनाको उद्धार गरेर घर पठाइएको बताए ।

उनले खुला सीमानाको लाभ उठाउँदै नेपालका महिला तथा किशोरीहरुलाई ललाईफकाई नाका पार गराएर भारतका विभिन्न सहरमा पु¥याएर बेचबिखन गर्नेहरु सक्रिय रहेको बताए ।

मानव बेचबिखनको अत्यधिक जोखिममा रहेको नेपालगन्जस्थित जमुनाहा नाकामा प्रहरी र विभिन्न सङ्घसंस्थाले निगरानी बढाएर कडाइ गरेपछि जोखिममा रहेका महिला तथा किशोरीको उद्धार सम्भव भएको माइती नेपाल नेपालगन्जले जनाएको छ ।

माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाका अनुसार सो अवधिमा भारत तथा खाडी मुलुक समेतबाट बेचबिखन र श्रम शोषणमा परेका १० जना महिलाको उद्धार गरेर नेपाल ल्याइएको छ । सो अवधिमा विभिन्न जिल्लाबाट हराएका ७८८ जना महिला र बाालिकाको खोज तलास तथा उद्धारको निवेदन परेकोमा खोज तलाश गर्दा ४१५ जना फेला परेको उनले बताए ।

अझैपनि ३७३ जनाको अवस्था अज्ञात रहेकोले उनिहरुको पनि खोजी कार्य विभिन्न माध्यमबाट जारी रहेको माइती नेपालले जनाएको छ । सो संस्थाका अनुसार बेचविखनका दुई वटा मुद्दा दर्ता गरिएको छ ।

Duduwa Tato hawa Bachau Image

बेचबिखनमा सक्रिय दलालहरुले बेला बेलामा नयाँ नयाँ तरिकाको प्रयोग गरेर नाका पार गराउने कार्य गर्दै आएकोले पनि नियन्त्रणमा समस्या हुने गरेको मानव बेचबिखन नियन्त्रणमा सक्रियहरुको भनाइ छ ।  

नाकामा कडा निगरानी गर्नुका साथै पहाडी जिल्लाहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनु आवश्यक रहेको कुरामा विशेष जोड दिइएको छ । मानव बेचबिखन नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारी तथा अन्य सरोकारवालाहरुबिच छलफल तथा संवाद कार्यक्रम पनि हुँदै आएको माइती नेपालले जनाएको छ ।