नेपालगन्जमा दुर्घटना रोक्न ट्राफिक नियम सिकाउँदै प्रहरी

नेपालगन्जमा दुर्घटना रोक्न ट्राफिक नियम सिकाउँदै प्रहरी

नेपालगन्ज १० साउन : बाँकेको नेपालगन्जमा बढ्दो सवारी साधनका कारण सडक दुर्घटना बढ्न थालेपछि सो न्यूनीकरण गर्न ट्राफिक प्रहरी पोष्ट नेपालगन्जले सवारी चालक र सर्वसाधारणलाई ट्राफिक नियम सिकाउन थालेको छ ।

ट्राफिक नियमको उचित जानकारी नहुँदा सडक दुर्घटना बढ्दै गएकाले ट्राफिक प्रहरीले नेपालगन्जको बिपी चोकबाट ट्राफिक नियमबारे जानकारी गराउन सचेतना अभियान सञ्चालन गरेको ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी नायब निरीक्षक नन्दकुमार पोखरेलले बताए ।

उनले नेपालगन्जमा सबैभन्दा बढी सडकमा देखिने ब्याट्री रिक्सा चालकहरुले ट्राफिक नियमको पालना नगरेको देखिएकाले दुर्घटना र सडक जाम बढ्दैगएको ठहर गरी सबैभन्दा पहिले ब्याट्री रिक्सा र अटोका चालकलाई सडक लेन र पालना गर्नुपर्ने नियमको बारेमा जानकारी दिइएको बताए ।

‘नेपालगन्जमा भएका दुर्घटनामा सबैभन्दा बढी ब्याट्री रिक्सा नै कारण भएको देखियो’ वरिष्ठ ट्राफिक प्रहरी नायब निरीक्षक पोखरेलले भने, ‘सबैभन्दा पहिले ब्याट्री रिक्सालाई ट्राफिक नियमको बारेमा जानकारी गराइएको छ ।’ ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका अनुसार प्लेकार्डसहित पैदलयात्रीलाई पनि ट्राफिक नियमको जानकारी दिइएको छ ।

Duduwa Tato hawa Bachau Image

पैदलयात्रीलाई जेब्रा क्रसबाट सडक वारपार गर्न र सडकपेटीमा हिड्न सिकाइएको वरिष्ठ ट्राफिक प्रहरी नायब निरीक्षक पोखरेलले बताए । उनले ट्राफिक नियम जानकारी गराउने अभियानलाई क्रमशः नेपालगन्जको अन्य चोक र सडकमा पनि सञ्चालन गर्न थालिएको बताए ।

पोखरेलले थपे, ‘अटोरिक्सा पछि अव बस, कार, जिप चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने योजना छ । बिस्तारै सबै ठाउँ र गाडी चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउनेछौं ।’ अधिकांश दुर्घटना चालककै गल्तीले हुने गरेको जनाउँदै जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले यस्ता जानकारीमूलक सचेतना अभियानले धेरै सुधार आउने बताए ।