नेपालगन्जको महेन्द्र पार्क जीर्ण, फोहोरको डंगुरमा वन्यजन्तुको बास
File Photo
- | नेपाखबर | अपराध–घटना
- १० साउन २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज ९ साउनः बाँकेको नेपालगन्जमा रहेको एक मात्र पर्यटकीय पार्क महेन्द्र पार्क यतिबेला जीर्ण अवस्थामा छ । तर, यसको पुनर्निर्माणका सम्बन्धमा सम्बन्धित निकायले चासो दिएका छैनन् ।
महेन्द्र पार्कको यो अवस्थाले आन्तरिक पर्यटक खिन्न छन् । भने यहाँ रहेका संरक्षित लगायतका वन्यजन्तु जोखिममा छन् । यस्ता वन्यजन्तुका लागि फोहोरको डंगुर जस्तो बासस्थान बनाएको भन्दै सर्वसाधरण आक्रोशित छन् ।
विक्रम सम्वत २०२० सालमा राजा महेन्द्रको नामबाट स्थापित भएको नेपालगञ्जको एकमात्र पर्यटकीय स्थल जिर्ण अवस्थामा पुगेको हो । कुनै बेला दैनिक हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक महेन्द्र पार्क घुम्न आउँथे ।
अव्यवस्थित र जिर्ण हुँदै जान थालेपछि महेन्द्र पार्क अहिले ओझेलमा परेको छ नै यसको अस्तित्व समेत मेटिने हो की भन्नेमा चिन्ता बढाएकोछ । महेन्द्र पार्कमा मिनी चिडियाखाना पनि छ । यहाँ विभिन्न दुर्लभ वन्यजन्तु तथा चराहरु हेर्न पाइन्छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–११ मा अवस्थित यो पार्क करीव एक विगाहा जमिनमा फैलिएको छ । अष्ट्रिज, कृष्णसार, चित्तल, खरायो, मुनिया चरा, परेवा, मयूर, हाँस, बन कुखुरा, बाँदरलगायतका १० प्रजातीका जनावर तथा पशुपन्छी महेन्द्रपार्कमा छन् ।
बाल उद्यान सहितको पार्कमा खेल्नका लागि झुला, पीङहरु व्यवस्थीत नभइ लथालिङ्ग अवस्थामा छन् भने बस्नका लागी बनाइएका स्टलहरु पनि जीर्ण अवस्थामा रहेका छन् । वरिपरिको वातावरण दुर्घन्धित र फोहोरमय छ । यस्तो बेथिति देखेका पर्यटकहरु आउनुमात्रै परेको गुनासो गर्न थालेका छन् ।
यतिमात्र नभर यहाँ राखिएका वन्यजन्तु, पंक्षिको उचित स्वास्थ्यको व्यवस्थापन हुन सकेको छैन भने प्रयाप्त मात्रामा पोशिला आहारा पाएका छैनन् ।
बाँके पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको जिल्ला हो । नेपालका प्रमुख शहर मध्येको एक नेपालगन्ज बहुजातीय, बहुभाषीक, बहुधार्मीक र बहुसामुदायिक धार्मीक सद्भावयुक्त शहर हो ।
तर, यहाँ पर्यटकका लागि घुम्न लायक स्थान भएर पनि त्यसको संरक्षण र सम्बद्धन नहुँदा आन्तरिक तथा बाह्य पर्यटक घुम्न लायक स्थानको खोजीमा बर्दिया र कैलाली लगायतका स्थानहरुमा जाने गरेका छन् ।
पर्यटकीय स्थल महेन्द्र पार्क अव्यवस्थित र जिर्ण हुँदा समेत स्थानीय तह भने मुकदर्शक बनेर बसेको देखिन्छ । मुलुकमा संघीय सरकारले पर्यटनलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधार मानेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको पूर्ण स्वामित्वमा रहेको यो पार्कको व्यवस्थापन तथा सञ्चालन ठेक्का दिएर सञ्चालित छ । यद्यपी यसको नियमित अनुगमन, संरक्षण, संर्वद्धन र व्यवस्थापनमा नेपालगन्ज उपमहानगरपालिकाले मौनता साँधेर बसेकोछ ।





0 Comments