लुम्बिनीमा सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक : एक वर्षमा गुमाए पाँच सय व्यक्तिले ज्यान
File Photo
- | नेपाखबर | अपराध–घटना
- ७ साउन २०८२, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज ६ साउन : लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको देखिएको छ । बढ्दो सहरीकरणसँगै वृद्धि भएका सवारीसाधन, साँघुरो सडक पूर्वाधार, चालकको लापर्बाही, प्रतिकूल मौसमलगायतका कारणले दुर्घटना बढ्दै गएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दुर्घटनाबाट मृतक र घाइते हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
लुम्बिनी प्रदेशमा गत आर्थिक वर्ष २०८१-८२ मा सानाठूला गरी तीन हजार ४७९ वटा सवारी दुर्घटना भएका छन् । सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले यी दुर्घटनामा परी ५०६ जना व्यक्तिले ज्यान गुमाएको जानकारी दिए ।
उनका अनुसार ज्यान गुमाउनेमा महिलाभन्दा पुरुष धेरै छन् । घाइतेको सङ्ख्या भने उस्ताउस्तै जस्तो छ । जसमा १०१ जना महिला र ४०५ जना पुरुष रहेका छन् । एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी पाँच हजार ६९१ जना घाइते भएका छन् । घाइते हुनेमा एक हजार ५७८ जना महिला र चार हजार ११३ जना पुरुष रहेका छन् ।
यो तथ्याङ्क अघिल्लो आवको भन्दा धेरै हो । अघिल्लो आव २०८०-८१ मा एक हजार १२० वटा सवारी दुर्घटना हुँदा ४९६ जना व्यक्तिले ज्यान गुमाएका थिए भने एक हजार ६९३ जना घाइते भएका थिए । त्यसै गरी आव २०७९-८० मा ८९२ वटा सवारी दुर्घटना हुँदा ४६२ जनाको मृत्यु भएको थियो ।





0 Comments