जानकीका अति विपन्न बस्तीमा ११ शौचालय निर्माण

जानकीका अति विपन्न बस्तीमा ११ शौचालय निर्माण

नेपालगन्ज ५ साउन : बाँकेको जानकी गाउँपालिका वडा नम्वर–२ स्थित छोटीपुरको अति विपन्न बस्तीमा जानकी गाउँपालिका, मिलाप संस्था र स्थानीय समुदायको लागत साझेदारीमा ११ वटा शौचालय निर्माण गरिएको छ । 

शौचालय निर्माणले गर्मी र वर्षाको समयमा हुने विभिन्न संक्रामक रोग नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त बस्तीमा शौचालय निर्माणका लागि रु. ६ लाख ७९ हजार ७ सय ४५ लाख रुपैँया ३३ पैसा लागत लागेको हो । जसमध्ये गाउँपालिकाको विनियोजित रकम रु. ५ लाख ५० हजार र जनश्रमदान रकम रु. १ लाख ४६ हजार २ सय ४५ रुपैयाँ ३३ पैसा लागतमा शौचालय निर्माण भएका हुन् ।

पक्की शौचालय निर्माणले छोटीपुरको गाउँमा ११ घरधुरीका घरपरिवारका करीव ६० जना सदस्य लाभान्वित भएका छन् । मधेशी समुदायको पनि खटिक जातीको बाहुल्यता रहेको उक्त गाउँमा प्रायः सबै घरहरुमा शौचालय थिएनन्, जसका कारण गर्मी समयमा विभिन्न संक्रमणको जोखिम निम्तिने खतरा रहेको थियो । 

अझ वर्षायाममा खुलारुपमा दिसापिसाब गर्दा संक्रामक रोगका साथै सर्प, अन्य किराको टोकाईको जोखिम रहेको छ । गरीब विपन्न समुदायको समस्या समाधान गर्नकै लागि आफूले राजनीति गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए ।

Duduwa Tato hawa Bachau Image

“गाउँपालिका र मिलाप संस्थाले गरेर मात्र होइन, तपाईं स्थानीयहरुकै सक्रियतामा ११ वटा शौचालय निर्माण भएको हो, त्यसकारण पालिकाको लगानी देखिएको हो,’ उनले भने–‘आउने दिनहरुमा तपाईंहरुले १ कठ्ठा जमिनको व्यवस्था मिलाएमा पालिकाको तर्फबाट खटिक परिवारको लागि विवाह मण्डप घर पनि पालिकाले बनाइदिन्छ ।’

स्थानीयहरु आफैं लागेर ११ वटा शौचालय बनेको छ तर, कुनै ठेकेदारलाई शौचालय निर्माणको जिम्मा दिएको भए ५÷७ वटा मात्र निर्माण हुने मिलाप संस्थाका कार्यकारी निर्देशक राजेन्द्र बहादुर थापाले बताए । आफूहरु माटोको घरमा बस्नुपर्ने अवस्था रहेको भन्दै शौचालय पनि नभएकोले समस्या भएको स्थानीय बताउँछन् । 

आफूहरुलाई खेतबारीमा वर्षातमा रातविरात शौचालय जानुपर्ने वाध्यताले किरा, सर्पको डर र असुरक्षित हुने अवस्थाको अन्त्य भएको स्थानीयको भनाई छ । शौचालयको अभावमा स्थानीयहरु रातको समयमा अझै पनि खेतबारीमा जानुपर्ने हुँदा बालवालिका तथा महिलाहरु बढी जोखिमा पर्ने गरेका थिए । गाउँपालिकाले शौचालय बनाइदिएपछि उनीहरु खुशी छन् । स्थानीय अमृता खटिक, रघुराज खटिक, सुम्मत खटिक लगायतले शौचालय बनेपछि खुसी ब्यक्त गरेका छन् ।