सवा ३ करोड राजश्व संकलन, सवारी दुर्घटनामा ७० जनाको मृत्यु

सवा ३ करोड राजश्व संकलन, सवारी दुर्घटनामा ७० जनाको मृत्यु

नेपालगन्ज ५ साउन : जिल्ला ट्राफिक कार्यालय बाँकेले आर्थिक वर्ष २०८१–०८२ मा सवा ३ करोड रुपैयाँ बढीको राजश्व संकलन गरेको छ । गत साउनदेखि असार मसान्तसम्ममा बाँकेभर गरिएको कारबाहीमा ३ करोड २६ लाख ७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गरेर चलाइएका ३७ हजार ४३५  सवारी साधनलाई कारबाही गरिएको हो । जसअन्तर्गत ४२ सय ८८ ट्रक– टिपर, ८४ सय ३९ वटा बस तथा मिनी बस, ६५ सय ५५ जिप, १४ हजार ५०२ मोटरसाइकल र १२ सय १८ वटा ट्याक्टरलाई कारबाही गरिएको ट्राफिक प्रमुख पन्तले जानकारी दिए ।

ट्रक–टिपरलाई गरिएको कारबाहीमा ४२ लाख ६२ हजार रुपैयाँ, बसतर्फ ८६ लाख १७ हजार, जिपबाट ५३ लाख ९२ हजार, मोटरसाइकलबाट ९५ लाख १ हजार र ट्रयाक्टरतर्फबाट ९ लाख ८४ हजार ५ सय रुपैयाँ र टेम्पो लगायतबाट १५ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ ।

ट्राफिक प्रहरी प्रमुख पन्तका अनुसार जिल्लाभरमा भएका ८ सय ५२ वटा सवारी दुर्घटनामा ७० जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ५५ जना पुरुष, १० महिला, ४ बालक र एक बालिकाको मृत्यु भएको हो । प्रहरी निरीक्षक पन्तले दिएको जानकारी अनुसार १०२ जना पुरुष, २० महिला, १६ बालक र ४ बालिका गम्भीर घाइते हुँदा ४९७ जना पुरुष, १७६ महिला र ७० बालक तथा ४१ जना बालिका सामान्य घाइते भएका छन् ।

Duduwa Tato hawa Bachau Image

आ.व. ०८१–०८२ को अन्तिमसम्ममा चौपायातर्फ भएका ५७७ दुर्घटनामा २२ चौपायाको मृत्यु हुँदा ७ चौपाया घाइते भएका छन् ।  त्यस अवधिमा सबैभन्दा बढी ४८५ वटा मोटरसाइकल दुर्घटनामा परेको प्रहरी निरीक्षक पन्तले बताए ।

ट्राफिक प्रहरीले एक वर्षको दौरानमा २५ सय ५५ पटक ट्राफिक सचेतना कार्यक्रम गरेकोमा २ लाख ३२ हजार १८७ जना सर्वसाधारण लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पन्तले जानकारी दिए ।

लाखौं सर्वसाधारणलाई ट्राफिक सचेतना कक्षा दिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा नागरिक सुनुवाई कार्यक्रम गरिएको थियो भने सवारी साधनको मेकानिकल जाँच लगायत चालक तथा सहचालकका लागि आँखा शिविर समेत गरिएको पन्तले बताए ।