साउनको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको भीड
आजबाट बोलबम शुरु
- | नेपाखबर
- ६ साउन २०८२, सोमवार
- नेपाखबर
नेपालगन्ज ५ साउन : आज यो वर्षको पहिले साउने सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दानलगायत कार्य गर्छन् ।
साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यही विश्वासका साथ काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, नेपालगन्जको जुङ्गेश्वर, जलेश्वरको शिरेश्वर र कलानेश्वर लगायत शिवालयहरुमा पनि पूजापाठ गर्नेहरुको घुइँचो लाग्ने गर्छ ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउने सोमबार पूजा आराधना गर्ने गरिन्छ । बोलबम तीर्थालुहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने गर्छन् ।
साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्दछन् ।
आजबाट बोलबम शुरु
यसैबीच, साउन महिनामा हिन्दू धर्मावलम्बीले शिवको पूजाआराधना र महिमा गाउँदछन् । शिव मन्दिरनजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ ।
गेरुवस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिव लिंगमा चढाउँछन् । नेपाल र भारतका शिवालयहरूमा साउन महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन् ।
‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) हो । काठमाडौंमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरु पनि सहभागी हुने क्रम बढेको छ ।
यता नेपालगन्ज र आसपास क्षेत्रका झक्तजनहरु बोलबम भन्दै राप्ती नदीबाट जल ल्याएर बागेश्वरी मन्दिर परिसरमा रहेको जुङ्गेश्वर महादेवको मुर्ती र शिवलिङ्गमा चढाउने गर्दछन् । भने कतिपय भक्तजनहरु बोलबमका लागि देशका विभिन्न स्थानसंगै छिमेकी राष्ट्र भारतका विभिन्न स्थानमा जाने गर्दछन् । यसरी बोलबम जाँदा मनोकामना पुरा हुने जनविश्वास रहेकोछ ।





0 Comments