नेपाल पर्यटन बोर्डका पूर्वसिइओ डा.धनञ्जय रास्वपामा प्रवेश
नेपालगन्ज २ साउन : नेपालको पर्यटन क्षेत्रका विज्ञ एवं नेपाल पर्यटन बोर्ड (एनटीबी)का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
रास्वपाको पार्टी कार्यालयमा बिहीबार एक कार्यक्रमबिच उनी रास्वपामा प्रवेश गरेका हुन् । रास्वपाको सिद्धान्त, नीतिगत धारणा र समर्पित नेतृत्वप्रति रेग्मीले विश्वास व्यक्त गर्दै पार्टीमा सहभागी भएको जानकारी दिए ।
कार्यक्रममा सम्बोधन गर्दै डा.रेग्मीले पुराना राजनीतिक शक्तिहरूबाट मुलुकको समृद्धि सम्भव नभएको निष्कर्षमा पुगेर रास्वपा रोजेको बताउँदै जीवनको धेरै समय विज्ञान, अनुसन्धान र पर्यटन विकासमा बिताएकाले अब त्यो अनुभवलाई राजनीतिको माध्यमबाट राष्ट्र निर्माणमा प्रयोग गर्ने दाबी गरे ।
रेग्मीले आफू यसअघिसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट पार्दै अब रास्वपाको नीतिगत स्पष्टता र सदाचारी नेतृत्वप्रति भरोसा रहेकाले पार्टीमा प्रवेश गरेको बताएका छन् । रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेका राज्यद्वारा नियोजित दमन र चरित्रहत्या प्रयासप्रति चिन्ता व्यक्त गर्दै उनले आफू रवि नेतृत्वप्रति पूर्ण समर्थनका साथ उभिएको घोषणा गरेका छन् ।
स्याङ्जा जिल्लामा जन्मेका डा. रेग्मी नेपालको हिमाली भूगोल, वातावरण, जलवायु परिवर्तन र पर्यटन क्षेत्रमा लामो समयदेखि अनुसन्धानरत विज्ञ हुन् । रेग्मी सिइओ हुँदा विभिन्न विवादमा मुछिएका व्यक्ति हुन् ।





0 Comments