उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा मुद्दा फछ्र्यौट ७५.७४ प्रतिशत
- | नेपाखबर | अपराध–घटना
- २ साउन २०८२, बिहिवार
- नेपाखबर
नेपालगन्ज १ साउन : उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले गत आर्थिक वर्ष २०८१-८२ मा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । नेपालगञ्जमा विहीबार आयोजित पत्रकार सम्मेलनमा कुल लगत २६४६ रहेकोमा २००४ वटा मुद्दा फछ्र्यौट भएको उच्च अदालत नेपालगञ्ज इजलासले जनाएको हो ।
जिम्मेवारी सरी आएका ७७४ र नयाँ दर्ता भएका १८७२ मुद्दा मध्ये जिम्मेवारी सरी आएका सबै र नयाँ मध्ये १२३० मुद्दा फछ्र्यौट भएका हुन् । योजनाको लक्ष्यको तुलनामा फछ्र्यौट प्रतिशत १२२.४२ रहेको छ ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरीष्ठम् न्यायाधिश चन्द्र बहादुर शारुको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा एक वर्ष नाघेका मुद्दाको संख्या शून्य रहेको जानकारी दिइएको छ ।
वरीष्ठम् न्यायाधिश शारुले गत आर्थिक वर्ष २०८१-८२ मा जिम्मेवारी सरी आएका सबै फैसला गर्ने र नयाँ दर्ताको ५० प्रतिशत फैसला गर्ने मूल योजनाको रणनीति पूरा भएका बताए । गत आर्थिक बर्षमा ७१.४१ प्रतिशत मुद्दा फछ्र्यौट भएका थिए ।
अदातलको रेकर्ड अनुसार प्रत्येक वर्ष मुद्दा फछ्र्र्यौट दर बढ्दै गएको छ । फछ्र्यौट भएका मुद्दा मध्ये जबरजस्ती करणी १४८, लागूऔषध १५१, मानव बेचविखन तथा ओसारप्रसार २८, ज्यान सम्बन्धि कसुर १५५, सम्बन्ध विच्छेद ५०, अन्य मुद्दा १०६३ तथा रिट र निषेधाज्ञा ४०९ रहेका छन् ।
यसैगरी जिल्ला अदालत बाँकेले गत आर्थिक वर्ष २०८१-८२ मा ५९.६८ प्रतिशत मुद्दा फछ्र्यौट गरेको जनाएको छ । जिल्ला न्यायाधिश भिष्मराज प्रसाईका अनुसार योजनाको लक्ष्यको तुलनामा ८९.५० प्रतिशत मुद्दा फछ्र्यौट भएका छन् । कुल ७८०४ मुद्दामा ४६५८ वटा मुद्दा फछ्र्यौट भएका छन् । जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दा भने अझैं ५३ वटा छन् । यस्तै बर्दिया जिल्ला अदालतमा ७६ प्रतिशत मुद्दा फछ्र्यौट भएको जिल्ला न्यायाधिश मनोज श्रेष्ठले बताए ।
आर्थिक वर्ष २०८१-८२ मा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा वरीष्ठम न्यायाधिश शारुले सबैभन्दा धेरै ९१३ वटा मुद्दा फैसला गर्दा मातहतको बाँके जिल्ला अदालतमा न्यायाधिश इन्द्र बहादुर कठायतले सबैभन्दा बढी ८११ र बर्दिया जिल्ला अदालतमा जिल्ला न्यायाधिश श्रेष्ठले सबैभन्दा बढी ९३४ वटा मुद्दा फछ्र्यौट गरेको तथ्यांक छ ।
यसैगरी २०८१-८२ मा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा उत्कृष्ट कार्य सम्पादन गरेका इजलास अधिकृत आँचल बगाले, नायब सुब्बा डम्बर विष्ट, तामेलदार प्रदीप चन्द र कार्यालय सहयोगी हरिश्चन्द्र खत्रीलाई पुरस्कृत गरिएको छ ।
पत्रकार सम्मेलनमा उच्च अदालत नेपालगञ्जका न्यायाधिशहरु सुभाष पौडेल, पुनम सिंह चन्द, गोविन्द जोशी, बसन्तराज पौडेल, जिल्ला अदालतका न्यायाधिश चन्द्रप्रकाश तिवारी, उच्च अदालतका रजिष्ट्रार सपना अधिकारी लगायतको पनि उपस्थिति थियो ।
सोक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदी, पत्रकारहरु विजय मल्ल, रुपा गहतराज, निशु जोशी तथा अधिवक्ता वसन्त गौतमले मुद्दा फच्ट्यौट, अदालतले दिएको आदेश तथा फैसला कार्यान्वयनको अवस्था, अदालत र मिडियाबीचको समन्वय एवम सहकार्यका विषयमा जिज्ञासा र सुझाव राखेका थिए ।





0 Comments