रेफरल अस्पताल नै स्वास्थ्य वीमाका ‘प्रथम सेवा विन्दु’ कायम

८ जटिल रोगका बिरामीलाई दुई लाखसम्म उपचार सहायता
रेफरल अस्पताल नै स्वास्थ्य वीमाका ‘प्रथम सेवा विन्दु’ कायम

नेपालगन्ज १ साउन : स्वास्थ्य बीमा बोर्डले १३ वटा ठूला रेफरल अस्पताललाई आगामी असोज मसान्तसम्म ‘प्रथम सेवा विन्दु’ का रूपमा सेवा दिन अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार बोर्डले यसअघि हटाइएको प्रथम सेवा विन्दुको सुविधा फेरि बहाल गर्ने निर्णय गरेको हो ।

यो पनि स्वास्थ्य बीमा : भेरी अस्पतालले प्रेषण पूर्जा लिएर आएका बिरामीलाई मात्रै सेवा दिने

यसअघि बोर्डले २०८२ साउन १ गतेदेखि रेफरल अस्पतालहरुले प्रथम सेवा विन्दुको रूपमा काम गर्न नपाउने भन्दै पत्राचार गरेको थियो ।

यी हुन् प्रथम सेवा विन्दु कायम रहने १३ अस्पताल

१. कोशी अस्पताल

२. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

३. नारायणी अस्पताल, बीरगञ्ज

४. गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज

५. बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर

६. भरतपुर अस्पताल

७. पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा

८. जीपी कोइराला श्वासप्रश्वास केन्द्र, तनहुँ

९. सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके

१०. भेरी अस्पताल, नेपालगञ्ज

११. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ

१२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

१३. डडेल्धुरा अस्पताल, डडेल्धुरा

Duduwa Tato hawa Bachau Image

८ जटिल रोगका बिरामीलाई आजदेखि दुई लाखसम्म उपचार सहायता

यसैबीच, स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्तिहरूले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने भएका छन् ।

आठ जटिल रोगका बिरामीहरूले हाल पाइरहेको एक लाख उपचार सुविधामा आजदेखि थप एक लाख गरी कुल दुई लाख रुपैयाँसम्मको उपचार सहायता पाउने छन् ।

‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ आजबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं’ स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भने ।

उक्त आठ जटिल रोगमा क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर समावेश छन् ।