भेरी अस्पताल र रेडक्रसबीच पहिलोपटक रक्तसञ्चार सेवा सम्बन्धि सम्झौता

भेरी अस्पताल र रेडक्रसबीच पहिलोपटक रक्तसञ्चार सेवा सम्बन्धि सम्झौता

नेपालगन्ज ३० असार : भेरी अस्पताल नेपालगन्ज र नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाबीच रक्तसञ्चार सेवा सञ्चालन सम्बन्धि पहिलोपटक सम्झौता गरिएकोछ ।

वि.सं.२०३३ सालदेखि भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको छ । विगतका वर्षदेखि बिना सम्झौता सञ्चालनमा रहेको रक्तसञ्चार सेवा आईतबार कानूनीरुपमा एक कार्यक्रमका बीच पहिलोपटक सम्झौता भएको हो । 

सम्झौतापत्रमा भेरी अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाह र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धन सिंह सम्झनाले हस्ताक्षर गरी बैधानिकता प्रदान गरेका छन् । 

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्लाको समन्वयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट नयाँ भवन निर्माणको लागि बजेट प्राप्त भएको थियो । अस्पताल परिसरको पश्चिम चारवाहिनी रोडतर्फ रक्तसञ्चारको नवनिर्मात भवन रहेको छ । 

Duduwa Tato hawa Bachau Image

उक्त सम्झौतापत्रमा रक्तसञ्चार सेवा २४ घण्टा सञ्चालन तथा व्यवस्थापन गर्ने, सेवा प्रभावकारी बनाउन गुणस्तर कायम राख्ने तथा आवश्यकता अनुसार नयाँ प्रविधिको प्रयोग गर्दै जाने, नियमितरूपमा घुम्ती रगत संकलन कार्यक्रम सञ्चालन गर्ने, नेपाल सरकार तथा रेडक्रसको नीति, कानून र विनियम अनुसार सेवा सञ्चालन गर्ने र हरेक पाँच–पाँच वर्षमा समिक्षा गरी सम्झौता नवीकरण गर्ने लगायतका १८ बुँदा समावेश रहेको छ । 

कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष शाह, प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. निराजन सुवेदी, नर्सिङ्ग प्रमुख आशा पन्त, लेखा प्रमुख मदन नेपाली, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति सम्झना, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, रक्तसञ्चार सेवा समितिका संयोजक राजकुमार वर्मा, निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ल र रक्तसञ्चार सेवाका प्रमुख बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मी लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।