बैजनाथको बजेट सर्वसम्मत पारित

८२ करोड २१ लाख ५२ हजार एक सय ५३ रुपैयाँ बराबरको बजेट
बैजनाथको बजेट सर्वसम्मत पारित

बैजनाथ ३० असार : बाँकेको बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि प्रस्तुत गरेको ८२ करोड २१ लाख ५२ हजार एक सय ५३ रुपैयाँ बराबरको बजेट सर्वसम्मत रुपमा पारित गरेको छ ।

गाउँपालिका कार्यालय रामपुरमा आईतबार सम्पन्न भएको १८ औं गाउँसभाको तेस्रो बैठकमा उक्त बजेट सर्वसम्मत रुपमा पारित भएको हो । गाउँसभाको दोस्रो बैठकमा असार १० गते उपाध्यक्ष निर्मला रोकायले आगामी वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । 




गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको सभाध्यक्षतामा आईतबार बसेको १८ औं सभाको तेस्रो बैठकले सर्वसम्मत रुपमा बजेट पारित गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए । सोही सभाले उत्कृष्ट कर्मचारी तथा बिद्यालयलाई पनि सम्मान गरेको छ । 

Duduwa Tato hawa Bachau Image


गाउँपालिकाले उत्कृष्ट बिद्यालयका रुपमा विपी मेमोरियल माध्यामिक बिद्यालय बैजनाथ–१ चिसापानी बाँके तथा उत्कृष्ट कर्मचारीका रुपमा स्वास्थ्य चौकी चिसापानीका प्रेम शाह, गाउँपालिकाको राजश्व शाखा प्रमुख दीपा ओली र बैजनाथ गाउँपालिका–५ नम्बर वडाका कार्यालय सहायक तुल्सी थारुलाई २० हजार नगदसहित दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेको हो ।  

गाउँपालिका अध्यक्ष शाही, उपाध्यक्ष रोकाय र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले उनीहरुलाई सम्मान गरेका थिए । सोही सभामा बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८१-०८२ मा प्रकाशनमा ल्याएको ‘समृद्ध बैजनाथ’ र ‘किसानसँग पालिका प्रमुख कार्यक्रमको स्मारिका’ पनि विमोचन गरिएको गाउँपालिकाका प्रशासन शाखा प्रमुख तप्तराज आचार्यले जानकारी दिए ।