एयरपोर्टका कर्मचारीलाई नैतिक संहिता
- | नेपाखबर
- २८ असार २०८२, शनिवार
- नेपाखबर
नेपालगन्ज २८ असार : अध्यागमन कार्यालयले शुक्रबार अध्यागमन कर्मचारीका लागि एक ‘नैतिक संहिता’ जारी गरेको छ। प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले एक सूचना जारी गरी नैतिक संहिता जारी गरेका हुन् ।
सूचनामा अध्यागमन प्रशासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा सिद्धान्त अनुरूप कर्मचारीलाई विद्यमान राष्ट्रिय कानुन, सामाजिक/ सांस्कृतिक मूल्यप्रति जिम्मेवार र संवेदनशील बनाउन संहिता जारी गरिएको भनिएको छ ।
यस्तै कर्मचारीको असल व्यक्तिगत, पदीय एवं पेसागत आचरण र व्यवहारका माध्यमबाट आम नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई थप छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ, अनुमानयोग्य र नतिजामूलक बनाउन नैतिक संहिता लागू गरिएको भनिएको छ।
नैतिक संहिताका बुँदाहरूमा बाहिरिने यात्रुलाई कम्तीमा ‘ह्याब अ नाइस जोर्नी’ भन्ने, नेपाल भित्रिने यात्रुलाई ‘वेलकम टु नेपाल, ह्याब अ नाइस जोर्नी’ भन्ने, थोरै र आवश्यक प्रश्नहरू मात्र गर्ने, खाडी मुलुकलगायतमा काम गर्न प्रस्थान गर्ने यात्रुलाई सम्मानयुक्त शब्दहरू प्रयोग गर्ने, रूखो व्यवहार नगर्ने, बोली वचनमा मिठासपन दिने र देशको मुहार झल्कने ठाउँ भएकाले पर्यटकहरूसँग बोली वचन र हाउभाउले आत्मीयता प्रदान गर्ने लगायतका विषय उल्लेख छन्।
यस्तै नैतिक संहिता अनुरूपको व्यवहार देखिएको÷नदेखिएकोबारे यात्रुहरूले तत्काल गुनासो गर्न सक्नेगरी आफूले प्राप्त गरेको सेवाको सन्तुष्टि व्यक्त गर्ने गरी ‘एक्जिट सर्भे’को व्यवस्था गर्ने पनि उल्लेख छ।





0 Comments