‘बदलिँदो परिवेशमा पत्रकारिता’ विषयमा अन्तरक्रिया

‘बदलिँदो परिवेशमा पत्रकारिता’ विषयमा अन्तरक्रिया

नेपालगन्ज २२ असार : नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् बरिष्ठ पत्रकार धर्मेन्द्र झाले नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् । 

नेपाल पत्रकार महासंघ बाँकेले आईतबार विहान महासंघ कार्यालय नेपालगञ्ज–४ सञ्चारग्राम (बसपार्क) मा आयोजना गरेको ‘बदलिँदो परिवेशमा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै झाले समाज बदलिरहेको परिप्रेक्ष्यमा पुस्तान्तरणको मनोभावनालाई आत्मसाथ गर्दै नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

झाले नयाँ प्रविधि र विकासक्रममा अद्यावधिक हुँदै पत्रकारहरुले आफूलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले पुरानो पुस्ता र नयाँ पुस्ताबीचको अन्तर्घुलनले मात्रै पत्रकारिता फस्टाउन सक्ने बताए । 

उनले लेखाईको प्रबृत्ति र तरिकामा बदलाब आवश्यक रहेको धारणा राखे । पूर्व अध्यक्ष झाले पत्रकारितामा सत्यता, सन्तुलन, महसुसीकरण र गल्ती सच्याउने चेत आवश्यक रहेको बताए । 

Duduwa Tato hawa Bachau Image

बरिष्ठ पत्रकार झाले आमसञ्चारमा पृष्ठपोषणको संयन्त्र नभएका कारण पत्रकारितामा समस्या आएको जिकिर गरे । उनले पृष्ठपोषणको संयन्त्रले मात्रै पत्रकारितालाई थप जिम्मेवार र जवाफदेही बनाउने धारणा ब्यक्त गरे ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका पूर्व अध्यक्षहरु लियाकत अलि, हेमन्त कर्माचार्य, निरज गौतम, झलक गैरे र रुद्र सुवेदी लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए ।