वन्यजन्तुको मूर्तीले सिगारियो कोहलपुर चौराहमा
नेपालगन्ज २२ असारः बाँके राष्ट्रिय निकुञ्जको प्रचार–प्रसार तथा प्रवर्धनका लागि बाँकेको कोहलपुर चौराहमा विभिन्न वन्यजन्तुको मूर्ति स्थापित गरिएको छ ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा बाँके राष्ट्रिय निकुञ्जले शनिबार कोहलपुर चौराहामा विभिन्न तीन वटा वन्यजन्तुका मूर्तिहरू राखिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।
‘बाँके राष्ट्रिय निकुञ्ज देशकै कान्छो निकुञ्ज हो, यहाँ संरक्षित जनावरहरू छन्, संरक्षित जनावरहरूको प्रवर्धन तथा निकुञ्जको पर्यापर्यटनको प्रचार–प्रसारका लागि कोहलपुर चौराहामा विभिन्न वन्यजन्तुका मूर्ति राखिएको हो’ वरिष्ठ संरक्षण अधिकृत कँडेलले भने, ‘चौराहाको चारै दिशामा चार वटा मूर्ति राखेका छौँ, दुई वटा बाघ, एउटा चौका र एउटा हात्तीको मूर्तिलाई चारै दिशातर्फ राखेका छौँ ।’
कोहलपुर चौराहाको बाहिरपट्टी मूर्ति राखिएको हो । चौराहाको पूर्वतर्फ बाघ, पश्चिमतर्फ चौका, उत्तरतर्फ बाघ र दक्षिणतर्फ हात्तीको मूर्ति राखिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा चितवनबाट मूर्ति बनाएर ल्याइएको कँडेलले जानकारी दिए । उनका अनुसार मूर्तिहरू फाइबरबाट बनाइएका छन्, टुटुफुट नहुने, नखुइलिने र मजबुद रहेको बताइएको छ ।
उनले यसले निकुञ्जको प्रचारप्रसार, जनावरको प्रवर्धन मात्रै नभएर चौराहको सौन्दर्यीकरण बढ्ने बताए । बाँके जिल्लाकै गौरव, शान र पहिचान बनेको राष्ट्रिय निकुञ्जको प्रचार–प्रसार र प्रवर्धन गर्न यसले टेवा दिने भनाइ छ ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले निकुञ्जको अनुरोधमा उक्त जनावरहरूको मूर्ति निर्माण गरेर चौराहमा राखिएको बताए । नगर प्रमुख आचार्यले यी मूर्तिहरूका कारण पर्यटन प्रवर्धन भएमा तथा प्रभावकारी देखिएमा नगरका अन्य सडक छेउका मूख्य मूख्य पर्यटकीय स्थानहरूमा पनि विभिन्न जनावरका मूर्तिहरू राखिने योजना बनाउने बताए ।
बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ साल असार २८ गते बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो । बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्र समेटिएको छ । निकुञ्ज क्षेत्रमा जैविक विविधताको दृष्टिले ८ वटा इकोसिस्टम, १२४ वटा वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराका प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइने निकुञ्जले जनाएको छ ।





0 Comments