नेपालमै पहिलोपटक नेपालगन्जमा यात्रु लक्षित कुलिङ सेन्टर सञ्चालन

नेपालमै पहिलोपटक नेपालगन्जमा यात्रु लक्षित कुलिङ सेन्टर सञ्चालन

नेपालगञ्ज २१ असार : नेपालगन्जमा स्थानीय तहबाट पहिलो कुलिङ सेन्टर शुक्रबारबाट सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गरेको कुलिङ सेन्टर (शितलन केन्द्र) शुक्रबारबाट सञ्चालनमा आएको हो ।

कुलिङ सेन्टरको एक कार्यक्रमका बीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । नेपालकै सबैभन्दा बढी गर्मी हुने सहरको रुपमा रहेको नेपालगन्जमा पहिलोपटक कुलिङ सेन्टर बनाइएको नेपालगन्ज उपमहानगरले दाबी गरेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले तातो हावाको लहर (लु) प्रतिकार्य योजना अनुरुप यात्रुहरुलाई लक्षित गरी बसपार्कभित्र कुलिङ सेन्टर निर्माण गरिएको बताए । नगर प्रमुख विष्टले असाध्यै गर्मीसंगै (लु) चलेको समयमा कुलिङ सेन्टरले नागरिकलाई राहत दिने अपेक्षा गरे । उनले नगरका अन्य स्थानमा पनि आवश्यकताका आधारमा कुलिङ सेन्टर बनाउने योजना रहेको उल्लेख गरे ।

नेपालगन्ज उपमहानगरपालिकाको २७ लाख लागतमा निर्माण सम्पन्न भएको कुलिङ सेन्टरमा नेपाल रेडक्रस सोसाइटीले १२ लाख मूल्य बराबरका आवश्यक विभिन्न सामग्री सहयोग गरेको नेपालगन्ज उपमहानगरपालिका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर भुपेन्द्र बोहराले जानकारी दिए । 

वातावरणमैत्री संरचनायुक्त कुलिङ सेन्टरमा कुलिङ सिस्टम, आपतकालीन स्वास्थ्य सेवा, पिउने पानी लगायत सुविधा रहेको बोहराले बताए । १२९१ स्क्वायर फिट क्षेत्रफलमा बनेको कुलिङ सेन्टरको छानामा युपिभिसी, सिलिङमा जिप्सम बोर्ड लगाइएको इन्जिनियर चन्दन राज दासले जानकारी दिए । 

नेपाल रेडक्रस सोसाइटीले १–१ थान वाटर कुलर र वाटर ट्यांकी, २ टन क्षमताका इन्भर्टरयुक्त ४ वटा एसी, ८ वटा पंखा, ६० सिट क्षमताको फलामको कुर्सी ३ सिटे २० थान, १४ वटा एलइडी बल्ब लगायत सहयोग गरेको दासले जानकारी दिए ।

Duduwa Tato hawa Bachau Image

नेपालगन्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लागतमा वडा नम्बर ४ बसपार्क क्षेत्रभित्र निर्माण गरिएको कुलिङ सेन्टरबाट लामो तथा छोटो दुरीको सवारी साधनको प्रतिक्षामा बस्ने यात्रुहरुलाई सुबिधा पुग्ने अपेक्षा गरिएको छ ।

कुलिङ सेन्टर उद्घाटन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, विपद समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिर प्रताप सिंह, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, नेपाल रेडक्रस सोसाइटी बाँकेका निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ललगायतको उपस्थिति रहेको थियो ।