बाँकेमा बढ्दो बालिका बलात्कारका घटना, पाँच वर्षीया बालिका पनि अछुतो
- | नेपाखबर | अपराध–घटना
- १३ असार २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज १३ असार : बाँकेमा महिला तथा बालबालिकामाथि हुने बलात्कारका घटनाको डर लाग्दो तथ्यांक बाहिरिएकोछ । पछिल्ला समय महिला तथा बालबालिकामा हुने बलात्कार र बलात्कार प्रयासका घटनाले जिल्लामा विशेषगरी बालबालिकाको अवस्था चिन्ताजनक देखिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकले हरेक वर्ष सार्वजनिक गर्ने नेपाल मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक समिक्षामा इन्सेकले संकलन गरेको तथ्यांकले यस्तो देखाएको हो ।
२०८१ पुष १६ गतेदेखि २०८२ असार १३ गतेसम्म इन्सेकले संकलन गरेको तथ्यांकमा बालअधिकार सम्बन्धि घटना ३४ वटा भएका छन् जसमा बलात्कारका ३० र बाल यौनदुव्र्यवहारका घटना ४ वटा छन् ।
बलात्कार जस्तो जघन्य अपराधमा पाँच वर्षीया बालिकादेखि १७ वर्षीया बालिकामाथि बलात्कार भएको पाइएको छ । बालिकामाथि हुने बलात्कार घटनामा पीडक १६ वर्षदेखि ५० वर्षसम्मका ब्यक्ति संलग्न भएको पाइएकोछ ।
यस्तै महिला अधिकार सम्बन्धि १७ वटा घटना भएका छन् भने १४ वटा बलात्कारका घटना छन् । जसमा बलात्कार प्रयास, हत्या र कुटपिट एक÷एक वटा रहेकाछन् ।
त्यसैगरी मानव बेचविखन तथा ओसार पसार सम्बन्धि ५ वटा र घरेलु हिंसा सम्बन्धि ४३ वटा घटनाका तथ्यांक संकलन भएकाछन् ।
बदलिँदो परिस्थितीमा महिला तथा बालबालिकामाथि हुने घटना, दुव्र्यवहारको संख्या बढ्दै गएकोछ । विशेषगरि बालिका र महिलाहरु बढि पीडित बनेकाछन् ।
बालबालिका तथा महिलामाथिको डरलाग्दो तथ्यांक बाहिरिएपछि सम्बद्ध सरोकारवालाले चिन्ता र चासो समेत देखाएकाछन् ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ को अर्धवार्षिक समिक्षा तथा बाँके जिल्लाको मानवअधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले यस विषयमा गम्भीर भएर लाग्न सुझाएका थिए ।
ईन्सेकका सदस्य कृष्णमुरारी प्रसाद भट्टको सभापतित्वमा भएको सो अन्तरक्रियामा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, बाँके प्रहरी प्रवक्ता एवम डिएसपी दीपक पातली, राष्ट्रिय मानवअधिकार आयोगका धनराज शाही, माइती नेपालका केशव कोइराला, अधिकारकर्मी प्रभात सिंह ठकुरी, अधिवक्ता बलबहादुर चन्द, वसन्त गौतम, विकास आचार्य लगायतले न्यायमा पहुँच र जिम्मेवार पक्षले यस्ता प्रकृतिका घटनामा पहल गरेको नदेखिएको बताएका थिए । उनीहरुले यस्ता घटना रोकथाम र न्यायका लागि पहल गर्नुपर्ने सुझाएका थिए ।
उक्त अन्तरक्रियामा प्राप्त सुझाव सल्लाहलाई वर्षपुस्तकमा समेटीने इन्सेकले जनाएकोछ । इन्सेकका टेकनाथ आचार्यले स्वागत गरेको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि धु्रवराज शर्माले सो तथ्यांक प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन इन्सेककी लक्ष्मी चौधरीले सञ्चालन गरेकी थिइन् ।





0 Comments