खजुरामा विद्युत अनियमितता विरुद्ध नो लाईट शाखा घेराउ

खजुरामा विद्युत अनियमितता विरुद्ध नो लाईट शाखा घेराउ

खजुरा ९ असार : बाँकेको खजुरा गाउँपालिका स्थित नो लाईट शाखा घेराउ गरिएकोछ । घण्टौंसम्म बिना पूर्व सूचना बिद्युत अवरुद्ध हुने, दर्जनौं पटक विद्युत आउने जाने गर्ने र बिद्युत सुचारु हुँदाको अवस्थामा पनि लो भोल्टेज हुने समस्या देखिएपछि खजुराका स्थानीयबासीले विद्युत प्राधिकरणलाई घेराउ गदै चेतावनी सहितको ध्यानाकर्षण पत्र बुझाएका छन् ।

न्यू डाँफे स्पोट्र्स क्लबको नेतृत्वमा नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रलाई खजुराको नो लाईट शाखा मार्फत ध्यानाकर्षण पत्र बुझाइएको हो । क्वलका अध्यक्ष तिलकबीर सुनारको अध्यक्षतामा विद्युत प्राधिकरणको नो लाईट शाखा खजुरा पुगेको टोलीले शाखा इन्चार्ज दिनेश ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

ध्यानाकर्षणपत्रमा केही महिनादेखि खजुरा क्षेत्रमा बिद्युत आपूर्ति अत्यन्त अनियमित हुँदै गएको, विना सूचना विद्युत काटिँदा घरयासी उपकरणहरु जल्ने, उद्योगहरुमा कच्चा पदार्थ ठुलो मात्रामा खेर जाने साथै अत्यन्त गर्मीहुने यस क्षेत्रका आम नागरिकको दैनीक जनजिवन नै प्रभावित बनेको उल्लेख गरिएको छ । 

लो भानेल्टेजका कारण विद्युत उपभोगमा ठुलो समस्या पर्दै आएको जनाउँदै उपरोक्त समस्याहरुलाई पहिचान गरि यथासिघ्र समस्या समाधान गरि विद्युत नियमित संचालनको ब्यवस्था गर्न प्राधिकरणको ध्यानाकर्षण गरिएको छ ।

स्थानीयबासीको समेत सहभागिता रहेको टोलीले बुझाएको पत्रमा नागरिकले तोकेको शुल्क तिरेपछि उपभोग गर्न पाउने विद्युत उपभोगको अधिकारलाई गैरकानुनीरुपमा बेला न कुबेला बिना सूचना अवरोध गर्ने प्राधिकरणको कार्यको भत्र्सना गरिएको छ । विद्युत नियमित दिन नसके लोडसेडिङको तालिका प्रकाशित गर्न र प्राबिधिक समस्या भए पूर्व सूचना दिएर मात्र बिद्युत काट्न ध्यानकार्षण पत्रमार्फत माग गरिएको छ।

Duduwa Tato hawa Bachau Image

‘ध्यानाकर्षण पछि पनि समस्या समाधान नभए सम्पूर्ण खजुराबासीबाट संगठीत आन्दोलन गर्ने ब्यहोरा समेत स्मरण गराउन चाहन्छौं ।’ पत्रमा लेखिएको छ । पत्र बुझाउन कार्यालय पुगेका स्थानीयले खजुरा शाखाबाट मिटर जोड्न निबेदन दिँदा महिनौं झुलाउने र घुस नखाई नजोड्ने गरेको गुनासो गरेका थिए ।

ध्यानाकर्षण पत्र बुझ्दै नो लाईट खजुराका प्रमुख ओलीले कार्यालय स्तरबाट गर्न सकिने कार्य गरेर समस्या समाधान गरिने र असम्भव कार्यका लागि माथिल्लो निकायमा पत्र पठाउने प्रतिबद्धता ब्यक्त गरे । वर्षायाममा पोल ढल्ने, तार चुँडिने र रुखबिरुवाले फल्ड हुने समस्या आइरहने उल्लेख गर्दै उनले कार्यालयका प्राबिधिकहरुलाई अधिकतम फिल्डमा खटाइएको जानकारी दिए ।

नो लाईट शाखा घेराउ गर्न पुगेका स्थानीयले केही बेर प्राधिकरणको महशुल काउण्टरको सटर बन्द गरेर सांकेतिक बिरोध जनाएका थिए । ध्यानकार्षण बुझाउँदै क्लवका अध्यक्ष सुनारले अर्कोपटक चुपचाप ध्यानाकर्षण बुझाउन नआउने बताउँदै जनताको आक्रोशको जिम्मेवार प्राधिकरण आफै बन्न चेतावनी दिए ।