नेपालगन्ज भन्सारबाट निर्यात भन्दा आयात बढ्दो

७१ अर्बभन्दा बढीको आयात हुँदा २ अर्ब ८५ करोडको निर्यात
नेपालगन्ज भन्सारबाट निर्यात भन्दा आयात बढ्दो

नेपालगन्ज ९ असार : नेपालगन्जस्थित जमुनाह नाकाबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विभिन्न देशबाट ७४ अर्ब ३५ करोडभन्दा बढीको आयात–निर्यात व्यापार भएको छ  ।

नेपालगन्ज भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्ष २०८१-०८२ मा सोे नाकाबाट ७१ अर्ब १८ करोड ४३ लाख ५८ हजार बराबरको आयात र दुई अर्ब ८५ करोड नौ लाख ३९ हजार बराबरको निर्यात गरेर ७४ अर्ब ३५ करोड बढीको आयात–निर्यात व्यापार भएको हो ।



नेपाल–भारत सीमाको जमुनाह नाकाबाट आयात–निर्यात व्यापार धेरै भएकोे देखिए पनि आयातको तुलनामा निर्यात भने निकै न्यून रहेको सो तथ्याङ्कले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म ६६ अर्ब ६२ करोड पाँच लाख २६ हजार बराबरको आयात निर्यात नेपालगन्ज भन्सारबाट भएको थियो । जसमा आयात ६४ अर्ब ४२ करोड ५२ लाख ७९ हजार र निर्यात दुई अर्ब १९ करोड ५२ लाख ४७ हजार रहेको थियो ।

नेपालगन्ज भन्सारबाट चालु आर्थिक वर्ष २०८१-०८२ को जेठ मसान्तसम्मको व्यापार घाटा ९६ प्रतिशत रहेको छ भने अघिल्लो आ.व.को सोही अवधीसम्म व्यापार घाटा ९७ प्रतिशत रहेको थियो । 


Duduwa Tato hawa Bachau Image

त्यस्तै, नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पनि विगतमा जस्तै वार्षिक लक्ष्य हाँसिल गर्न नसक्ने देखिएको छ । नेपालगन्ज भन्सार कार्यालयले चालु आ.व.का लागि २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार लक्ष्य पाएकोमा जेठ मसान्तसम्म ६७.२९ प्रतिशत अर्थात १८ अर्ब २९ करोड १२ लाख १२ हजार मात्रै राजस्व असुली गर्न सफल भएको छ ।

अघिल्लो आ.व. २०८०-०८१ मा नेपालगन्ज भन्सारले २८ अर्ब ६६ करोड २५ लाख २८ हजार लक्ष्य पाएकोमा उक्त आ.व.को अन्त्यसम्म ६३.२५ प्रतिशत अर्थात १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार राजस्व सङ्कलन गरेको थियो । अघिल्लो आ.व.को तुलनामा यस वर्ष जेठ सम्ममा करिब १५ करोडभन्दा बढी भन्सार असुली भइसकेको छ ।