खजुरा स्थित पेडारी नालामा बेपत्ता बालक मृत फेला

खजुरा स्थित पेडारी नालामा बेपत्ता बालक मृत फेला

खजुरा ९ असार : बाँकेको खजुरा स्थित पेडारी नालामा हिजो आईतबारबाट बेपत्ता रहेका ९ वर्षिय बालक आज(सोमबार) मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ता बालकलाई मृत फेला पारेको हो ।

हिजो अपरान्ह ३ जना साथीहरु सहित पौडी खेल्न गएका साबिर अलि भेलमा बगेर बेपत्ता भएका थिए । हुलाकी राजमार्गको पेडारी पुलदेखि अन्दाजी २० मिटर दक्षिणमा पौडी खेल्ने क्रममा बालक बेपत्ता भएको र आज मृत फेला परेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ । उनलाई करिब ३ किलोमिटर परसम्म पानीले बगाएर लागेको अवस्थामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको प्रयासमा फेला पारिएको हो । शवको पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ ।

Duduwa Tato hawa Bachau Image

बेपत्ता भए लगत्तै सँगै गएका अन्य बालकहरुले साबिर बेपत्ता भएको हो हल्ला गरेपनि प्रहरीले समयमा उद्धार नगरिदिँदा बालकको मृत्यु भएको आफन्तले बताएका छन् । प्रहरीले भने तत्काल उद्धार टोली परिचालन गरिएको र थप खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको दाबी गरेको छ । तराईका नालाहरुमा भासिने बलौटे माटो हुने भएकाले भेलमा बालबालिकालाई पौडी खेल्न नपठाउन स्थानीयबासीलाई प्रहरीले आग्रह गरेको छ । हिजै मात्र बाँकेको कोहलपुर– १३ स्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर ७ वर्षिय एक बालकको पनि ज्यान गएको थियो ।