खजुराबाट रोजगारीका लागि विदेश गएका २८ जनाको मृत्यु

खजुराबाट रोजगारीका लागि विदेश गएका २८ जनाको मृत्यु

नेपालगन्ज ७ असार : बाँके जिल्लाको खजुरा गाउँपालिकाबाट वैदेशिक रोजगारीमा जानेहरूको अवस्था निकै सोचनीय रहेको पाइएको छ । सो पालिकाबाट वैदेशिक रोजगारीमा विभिन्न देशमा गएकाहरू मध्ये हालसम्म २८ जनाको मृत्यु भइसकेको गाउँपालिकामा रहेको रोजगार सेवा केन्द्रले जनाएको छ ।

गत दुई वर्षभित्र मात्रै पालिकाबाट वैदेशिक रोजगारीमा गएका १४ जनाको मृत्यु भएको जनाउँदै खजुरा गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख लोकराज संज्यालले हालसम्मको तथ्याँक अनुसार खजुराबाट वैदेशिक रोजगारीका लागि जानेहरू मध्ये कुल २८ जनाको ज्यान गइसकेको बताए । उनले चार जनाको अङ्गभङ्ग भएको घटना आएको पनि बताए ।

रोजगार सेवा केन्द्रका अनुसार हालसम्म खजुरा गाउँपालिकाबाट ६ हजार ४ सय जना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको मृत्यु हुनेमा सबैभन्दा बढी खाडी मुलुकहरू रहेको पाइएको छ । 

Duduwa Tato hawa Bachau Image

रोजगार सेवा केन्द्रले सुरक्षित आप्रवास (सामी) कार्यक्रम सञ्चालन गरी वैदेशिक रोजगारीमा जाने, जान चाहने र फर्किएकाहरूका लागि विभिन्न सीपमूलक तालिम दिने गरिएको सेवा केन्द्र प्रमुख संज्यालले बताए । सेवा केन्द्रले नागरिकमा सूचनाको पहुँच, कानूनी सहजीकरण, सीप विकास तालिम, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता प्रदान गर्ने गरेको छ ।