नेपालगञ्ज फोटो फेस्टिबलको चौथो संस्करण शुरु
- | नेपाखबर
- ४ असार २०८२, बुधवार
- नेपाखबर
नेपालगन्ज ४ असार : नेपालगञ्ज फोटो फेस्टिबलको चौथो संस्करण आजदेखि शुरु भएको छ । दुई दिनसम्म चल्ने फोटो फेस्टिबलको नेपाली काँग्रेसका सह–महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौरले यस वर्षको उत्कृष्ट फोटो खिचेर उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै राठौरले फोटो फेस्टिबलले फोटोग्राफीको महत्व, आवश्यकता र अपरिहार्यताको महत्वलाई उजागर गर्ने विश्वास ब्यक्त गरे । फोटो केवल चित्र खिच्ने प्रक्रिया मात्र नभएर कथा बोल्ने र भन्ने माध्यम समेत भएको राठौरको भनाई छ । उनले यस्ता सिर्जनात्मक र रचनात्मक कामले समाजलाई सही दिशा निर्देश गर्ने बताए ।
उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति थियो । फोटो फेस्टिबलमा राष्ट्रिय फोटो प्रतिष्पर्धामा देशभरबाट सहभागी फोटोबाट छानिएका एक सय ११ फोटो प्रदर्शनीमा राखिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।
‘संस्कृति, पर्यटन, कृषि लगायतका ९ विधामा विविधता झल्कने फोटो एउटै थलोमा हेर्ने अवसर छ,’ अन्तरालका प्रमुख कार्यकारी शाहले भने–‘निःशुल्क रुपमा फोटो हेर्ने व्यवस्था मिलाएका छौं ।’ बुधबार विहान ११ बजेदेखि साँझ ७ बजेसम्म र विहिबार ७ बजेदेखि साँझ ७ बजेसम्म फोटो अवलोकन गर्न सकिनेछ ।
फोटो फेस्टिबलमा फोटो प्रदर्शनीसंगै दुई दिने फोटोग्राफी तालिम पनि सञ्चालन गरिएको छ । प्रतिष्पर्धामा छानिएका १ सय ११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगञ्ज, काठमाडौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिनेछ । यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने आयोजकले जनाएको छ । बरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटोहरु छनोट गरेको हो ।
नेपालगञ्ज फोटो फेस्टिबल अन्तर्गत राष्ट्रिय फोटो प्रतिष्पर्धाको सबैभन्दा ठूलो र मुख्य पुरस्कार वर्ष फोटो रहेको छ । यसको पुरस्कार राशी ५१ हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । यस पटकको ‘वर्ष फोटो’ आर्यन धिमालले खिच्नुभएको जाजरकोट भूकम्पले क्षतिग्रस्त आफ्नो घर अगाडि रोइरहेकी महिलाको फोटो घोषित भएको छ । यस्तै टप ३१ मा परेका फोटोमा सर्वाधिक भोट प्राप्त गर्ने फोटोग्राफरले पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्नेछन् भने यसको पुरस्कार राशी ५० हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । असार ५ गते विहिबार दिउँसो १ बजेसम्म उक्त फोटोहरुमा इ–सेवामा गएर भोट गर्न सकिनेछ ।
यस वर्ष पनि हरेक विधाका उत्कृष्ट फोटोलाई नगद पुरस्कारसहित विधागत उत्कृष्ट फोटो अवार्ड प्रदान गरिनेछ । दैनिक जीवन, समाचार, पर्यटन, कृषि, संस्कृति, वन्यजन्तु, प्रकृति र संरक्षण, खेलकुद, नेपाल स्माइल गरी प्रतियोगितामा ९ विधा प्रतिष्पर्धामा समावेश छन् । हरेक विधाको उत्कृष्टलाई ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी यस वर्ष फोटो पत्रकार र फोटोग्राफरहरुका फोटोग्राफी अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल फोटोग्राफी समिट पनि आयोजना हुने आयोजक अन्तरालले जनाएको छ ।





0 Comments