पश्चिम नेपालकै एकमात्र प्लाष्टिक सर्जन डा.विनोदले देखेको हरियाली शहरको सपना

पश्चिम नेपालकै एकमात्र प्लाष्टिक सर्जन डा.विनोदले देखेको हरियाली शहरको सपना

नेपालगन्ज २३ जेठ : नेपालमा प्लाष्टिक सर्जरी अर्थात शल्यक्रिया गरी छाला परिवर्तन गर्ने डाक्टरको संख्या निकै नै कम छ । अधिकांश प्लाष्टिक सर्जन काठमाडौंमै छन् । तर, नारायणी पश्चिम अर्थात लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेर सेवा दिने एक मात्र प्लाष्टिक सर्जन हुन्–डा. विनोद कर्ण । डा. कर्ण १० वर्षदेखि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत छन् । नेपालगञ्जका स्थानीय वासिन्दा कर्णले वि.सं. २०४० सालमा नेपालगन्जको महेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेका हुन् । अमृत साइन्स क्याम्पसबाट आईएस्सी गरेर एमबीबीएस पढनका लागि कोसिस गरे ।

२ पटक प्रयास गर्दा पनि कर्णको नाम इन्ट्रान्समा निस्किएन् । त्यतिबेला नेपालमा महाराजगन्ज क्याम्पसमा मात्रै एमबीबीएसको पढाइ हुन्थ्यो । सिट थियो जम्मा १५ वटामात्रै । नाम ननिस्कएपछि डाक्टर बन्ने सपना अधुरै राखेर कर्ण बीएस्सी भर्ना भएर पढाइलाई अगाडि बढाइरहेका थिए । त्यति नै बेला उनले रसियामा एमबीबीएस पढन जाने अवसर पाए । सन् १९९३ देखि २००० सम्म सात वर्ष रसियामा बसेर पढेपछि नेपाल फर्किए ।

नेपालका वीर अस्पताल, प्रसुती गृह र कान्ति बाल अस्पतालबाट इन्टर्नसीप पूरा गरे । लोकसेवा पास गरेर मेडिकल अधिकृतको रुपमा वि.सं. २०५९ सालमा खोटाङ जिल्ला अस्पतालमा गए । त्यतिबेला माओवादीको हिंसात्मक आन्दोलन उत्कर्षमा थियो । खोटाङमा बसेर काम गर्न गाह्रो भएपछि केही महिना नै सरकारी जागिर छाडेर काठमाडौं फर्किएर सुषमा मेमोरियल अस्पताल साखुमा ५ वर्ष मेडिमल अफिसरको रुपमा काम गरे ।

वि.सं. २००७ मा स्कलरसीप पाएपछि प्लाष्टिक सर्जरीमा एमडी गर्न चाइना गए । ३ वर्षमा प्लाष्टिक सर्जरीको कोर्स पूरा गरेर सन् २०१० मा उनी नेपाल फर्किए । त्यसपछि करिब ६ महिना सुषमा मेमोरियल अस्पतालमा काम गरे । त्यतिबेला नेपालगन्जलगायत पश्चिम नेपालका विभिन्न जिल्लाबाट धेरै बिरामीहरु प्लाष्टिक सर्जरीका लागि सुषमा मेमोरियल अस्पतालमा पुग्थे । आफ्नै क्षेत्रका बिरामी उपचारका लागि ऋण धन गरेर काठमाडौं आउनु पर्ने अवस्थाले डा. कर्णलाई आफ्नै क्षेत्रमा फर्किएर केही गर्नुपर्छ भन्ने लाग्यो । नेपालगन्ज अर्थात घर आएका बेला नेपालगंज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडियासँग भेट भयो ।

यो पनि न्यूरोडका ग्रिन बेल्टमा ३० वटा बगम बेली विरुवा रोपियो

डा. कनोडियाले नेपालगन्ज मेडिकल कलेजमा आएर काम गर्न आग्रह गरेपछि डा. कर्ण सन् २०११ फेब्रुअरीमा प्लाष्टिक सर्जनको रुपमा नेपालगन्ज मेडिकल कलेज ज्वाइन गरे । मेडिकल कलेजमा प्लाष्टिक सर्जरी सेवा सुरु भयो । जन्मदैं ओठ कटेका, आगोले पोलेका, कुकुरलगायत जंगली जनावरले टोकेका र सडक दुर्घटनामा परेका, रुख तथा भिरबाट लडेका बिरामी उपचारका लागि आउने क्रम बढ्दै गयो । डा. कर्ण र उनको टिमले यो अवधिमा २ सय भन्दा बढी बालबालिकाको जन्मदै कटेका ओठ जोडिदिएर बालबालिकाको अनुहारमा मुस्कान ल्याइदिएका छन् । डा. कर्णले दुर्घटनामा परेर अनुहारलगायत शरीरका विभिन्न भाग बिग्रिएका करिब ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर पहिलेकै अवस्थामा फर्कादिएका छन् ।

Duduwa Tato hawa Bachau Image

पछिल्ला दिनहरुमा प्लाष्टिक सर्जरी गरेर उपचार गर्नुपर्ने बिरामीको संख्या वर्षेनी बढ्दै गएको छ । तर, प्लाष्टिक सर्जरी सेवा राजधानीभन्दा बाहिरका अधिकांश सहरमा अझै पुगिसकेको छैन । जसका कारण बिरामीले उपचारका लागि अझै पनि राजधानी पुग्नुपर्ने बाध्यता छ । मेडिकल कलेजको ओपिडीमा मात्रै दैनिक १० देखि १५ जनासम्म विभिन्न किसिमका दुर्घटनामा बिरामीहरु उपचारमा आउने गरेका छन् । डा. कर्ण र उनको टिमलले हप्तामा करिब १५-१६ जनासम्मको शल्यक्रिया गर्ने गरेका छन् ।

उपचारका लागि आउने विपन्न तथा आर्थिक अवस्था कमजोर भएका कारण उपचार नै गराउन नसक्ने अवस्थामा रहेका बिरामीलाई नेपालगन्ज मेडिकल कलेज र डा. कर्णको टिमले निःशुल्क उपचारसमेत गर्दै आएको छ । पश्चिम नेपालमा ट्रमाका बिरामीहरुको संख्या बढ्दै गएको छ । नेपालगन्जमै नाफारहित सुविधासम्पन्न ट्रमा सेन्टर संचालन गर्न सके धेरै बिरामीले सहज उपचार पाउन सक्ने डा. कर्ण बताउँछन् । नेपालगन्ज मेडिकल कलेजमा अझै पनि वर्न आईसीयु अर्थात पोलेका बिरामीलाई राख्ने आईसीयु छैन । जसका कारण पोलेका बिरामीहरुलाई थप उपचारका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता छ । ‘नेपालगन्जमै वर्न आईसीयु संचालन गर्न सके धेरै बिरामीहरुले सहज रुपमा उपचार सेवा पाउन सक्छन्,’ डा कर्ण भन्छन् ।

डा. कर्णकै अग्रसरतामा नेपालगन्ज मेडिकल कलेजमा प्लाष्टिक सर्जरी शिविर पनि संचालन हुँदै आएको छ । शिविर संचालन भएका बेला जन्मजात ओठ कटेका बिरामीहरुको निःशुल्क शल्यक्रियासहित उपचार हुन्छ । राजनीतिदेखि सामाजिक काममा सक्रिय डा. कर्ण राजनीतिदेखि सामाजिक कामहरुमा पनि सक्रिय छन् । उनकै अगुवाईमा वि.सं. २०७२ साउनदेखि नेपालगन्जमा ‘क्लीन नेपालगन्ज, ग्रीन नेपालगञ्ज’ अभियानमार्फत वृक्षारोपण र सरसफाई अभियान संचालन गर्दै आएका छन् । सहरलाई स्वच्छ तथा हरियाली बनाउने अभियानमा निकै सक्रिय छन् । ‘क्लीन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ अभियानले हालसम्म कयौं पटक सरसफाई अभियान संचालन गरिसकेको छ ।

नेपालगन्जको सहरी क्षेत्रमा हरियाली प्रवद्र्धनमा ‘क्लीन नेपालगन्ज, ग्रिन नेपालगन्ज’को महत्वपूर्ण योगदान छ । डा. कर्ण नेपाल चिकित्सक संघ भेरीमा पनि सक्रिय छन् । चिकित्सक संघमार्फत डा. कर्णले कोभिड–१९ महामारीका बेला जनचेतना अभिवृद्धि गर्नेदेखि संक्रमितको घर आँगनमै पुगेर उपचार गर्ने अभियान नै चलाएका थिए । उनी रोटरी नेपालगन्जका संस्थापक अध्यक्ष र चिकित्सक संघका पूर्व अध्यक्ष हुन् ।

प्लाष्टिक सर्जनको जागिर छाडेर डा. कर्ण बिभिन्न निर्वाचनमा उम्मेदबार बनेका थिए । प्रदेशसभा सदस्यको चुनावमा जित्न नसकेपनि उनी चिकित्सा क्षेत्र, समाज सेवा र राजनीतिमा सक्रिय छन् ।