जेठ २० गते काँग्रेस महामन्त्री थापा नेपालगन्ज आउँदै
नेपालगन्ज १८ जेठ : नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा जेठ २० गते नेपालगञ्ज आउँदैछन् ।
क्षेत्र नम्बर–२ तथा प्रदेश क्षेत्र ‘क’ र ‘ख’ बाँकेको तेस्रो क्षेत्रीय सम्मेलन उदघाटन गर्न थापा नेपालगञ्ज आउन लागेका हुन् । क्षेत्रीय सभापति रमेश कुमार गुप्ताले जेठ २० गते विहान १० बजे नेपालगञ्ज–१२ मुक्तिपुरस्थित लिला प्यालेसमा हुने क्षेत्रीय सम्मेलनमा महामन्त्री थापालाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको जानकारी दिए ।
पार्टी कार्यालय नेपालगञ्जमा आईतबार विहान आयोजित पत्रकार सम्मेलनमा गुप्ताले थापाले शुरु गरेको ‘नवीन काँग्रेस–बलियो काँग्रेस’ बनाउने अभियानलाई सम्मेलनले सघाउ पुग्ने विश्वास ब्यक्त गरे । सम्मेलनमा राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिने उनले बताए । क्षेत्रीय सभापति गुप्ताले सम्मेलनमा उपस्थिति हुन सबैलाई आह्वान समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले गणतन्त्र सजिलै प्राप्त भएको व्यवस्था नभएको भन्दै यसको जग कसैले हल्लाउन नसक्ने बताए । उनले देशमा केही उकुशमुकुश देखिए पनि कमी–कमजोरी सच्याएर जानुको विकल्प नरहेको उल्लेख गरे ।
क्षेत्रीय सचिव सुनिल सिंह हमालले सञ्चालन गरेको कार्यक्रममा प्रदेश ‘क’ का सभापति ज्ञानेन्द्र कुमार चौधरी, ‘ख’ का सभापति जितेन्द्र बहादुर हमाल, क्षेत्रीय सचिव प्रदीप साहु, नेताहरु सुरेन्द्र बहादुर हमाल, लक्ष्मी नारायण शाह, जगत नारायण चौधरी लगायत उपस्थित थिए ।





0 Comments